काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर सरकारले ठूलो गल्ती गरेको बताउनुभएको छ ।
मंगलबारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले गल्ती गरेको कुरा भविष्यमा पश्चताप हुने उल्लेख गर्नुभयो ।
उहाँले हटाउनुको कारण काम गर्न नसकेको भन्ने आरोप रहेको भन्दै यो आरोप कसैले नपत्याउने जिकिर गर्नुभयो । उहाँले कुलमान हटाउनुको कारणबारे जथाभावी तर्क नगर्न पनि उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्कालाई चेतावनी दिनुभयो । उहाँले देशको लागि काम गर्ने व्यक्ति हटाउनु दुर्भाग्य भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सरकारले हिजो नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएछ । केही आरोप छ की भनेर हेरेको काम गर्न सकेन भन्ने आरोप रहेछ । यो कुरा कसैले पत्याउँदैन मन्त्रीज्यु । यस्तो वाइयात तर्क गरेर काम गर्ने मान्छेलाई हटाउनु हाम्रो देशको दुर्भाग्य हो । दुःखद् कुरा हो । यसको म बिरोध गर्न चाहन्छु । सरकारलाई आग्रह गर्न चाहन्छु, यो निर्णय सच्याओस् । मैले बजारबाट त्यतिबेला योग्यतम मान्छेहरुमाध्येबाट नियुक्ति गरेको थिएँ, पहिलो कार्यकालमा । पछि मैले केही सहकार्य गरेँ । सरकारले यो ठूलो गल्ती गरेको छ । भोलि पश्चताप हुनेछ ।’
सांसद शर्माले सरकारलाई निर्णय सच्याउन आग्रह समेत गर्नुभयो ।