अधुरै रह्यो बेल्जियमको विश्वकप सपना

असार २७, २०८३ |विनयज्योति सापकोटा
अधुरै रह्यो बेल्जियमको विश्वकप सपना

काठमाडौं । क्वार्टरफाइनलमा खेलमा स्पेनसँग पराजित भएर बेल्जियम फिफा विश्वकपबाट बाहिरिएको छ । 

विश्वकपमा बेल्जियमको यो बर्हिगमन सहज थिएन । यो केबल एक टिम बाहिरिएको घटना मात्रै होइन बेल्जियमको स्वर्णिम पुस्ताको कसरी बिदाइ भयो भन्ने मानक पनि हो । एक समय अनुमान गरिएको थियो कि – बेल्जियम फुटबलको त्यो स्वर्णिम पुस्ताको परी कथामाजस्तै सुखद् र यादगार बिदाइ हुनेछ । 

उनीहरुले केही ठूलो कुरा जित्नेछन् अनि आफ्नो देशको साँच्चिकै स्वर्णिम पुस्ता भएको प्रमाणित गर्नेछन् । तर, उनीहरुको बिदाइ त रोदनले पो भरियो । बेल्जियमको स्वर्णिम पुस्ता भनिएकामध्ये अहिलै चार खेलाडी मात्रै राष्ट्रिय टिममा थिए । रोमुलु लुकाकू, केभिन डिब्रुएन, थिबो कोर्टुवा र एक्सेल विट्सेल ।

यो पुस्ताको सुरुआत हुन्छ ब्राजिल विश्वकप २०१४ बाट । उनीहरुले फिफा विश्वकप र युरोकपमा ठूलो टिमहरुलाई मात खुवाउँछन् । जित्छन्, उपाधि नजिक पुग्छन् अनि खै के हुन्छ, बाहिरिन्छन् । हुन् त फुटबलमा परीकथाको जस्तो बिदाइ निकै दुर्लभ हुन्छ, होइन र ?

फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा स्पेनसँग २–१ ले पराजित भएपछि बेल्जियमको ‘गोल्डेन जेनेरेसन’ का बाँकी चार सदस्यको विश्वकप यात्रा सम्भवतः यही समाप्त भयो । स्पनेसँगको खेलमा प्रशिक्षकले योजनामै नभएका निर्णयहरु लिनुपर्यो ।

खेलका क्रममा उनीहरुले गोलकिपर गुमाए, कप्तान गुमाए । केभिन डे ब्रुइनेलाई योजना बाहिर गएर परिवर्तन गर्नुपर्‍यो । दुर्भाग्य के भयो भने – बेल्जियम आफ्नो त्यही एउटा गल्तीले पराजित भयो । कोर्टुवा, लुकाकु, डे ब्रुइन र एक्सेल सन् २०१४ को ब्राजिल विश्वकपदेखि राष्ट्रिय टोलीका मुख्य खेलाडी रहँदै आए । तर, फुटबलको सबैभन्दा ठूलो उपाधि जित्ने बेल्जियमको अन्तिम अवसर उनीहरुकै उत्तराधिकारीमध्ये एक खेलाडीको गल्तीका कारण समाप्त भयो ।

विश्वकप २०२६ मा स्पेनसँगको क्वार्टरफाइनल खेलमा चोटका कारण दोस्रो हाफको बीचतिर गोलकिपर कोर्टुवा मैदान छाडे । उनले बेन्चबाट हेर्दै गर्दा २४ वर्षीय सेन्ने लामेन्स ले ८८औँ मिनेटमा आएको प्रहार नियन्त्रण गर्न सकेनन् । स्पेनका मिकेल मेरिनोले रिबाउन्डमा गोल गर्दै स्पेनलाई जितको स्वाद चखाए ।

लामेन्सले गत सिजन म्याचेस्टर युनाइटेडबाट यस्तो ब्लन्डर गरेका थिएनन् । तर, विश्वकपमा दबाब फरक थियो । इंग्ल्यान्डका पूर्व खेलाडी स्टेफन वार्नकका अनुसार लामेन्सले आफूलाई राम्रो साबित गर्न सकेनन् । अब आशा गरौँ, बेल्जियमको नयाँ पुस्ताको समय अवश्य आउनेछ । तर, पुरानो पुस्ताको यात्रा यसरी अन्त्य भयो त्यो निकै पीडादायी रह्यो । हो, उनीहरूले अन्तिम पटक केही विशेष गर्न पाउनुपथ्र्यो । त्यो पाएनन् ।

१२ वर्ष अघि भएको ब्राजिल विश्वकपको समूह चरणको पहिलो खेलमा अल्जेरियालाई २–१ ले हराएको बेल्जियमको टोली हेर्दा त्यो समयका उत्कृष्ट खेलाडीले भरिएको ‘ड्रिम टिम’ जस्तै देखिन्थ्यो । त्यो टोलीमा कोर्टुवा, डे ब्रुइन, विट्सेल र लुकाकु सुरुआती रोजाइमा थिए । 

साथै इडेन हाजार्ड, मुसा डेम्बेले र भिन्सेन्ट कम्पनी पनि टोलीमा थिए भने ड्रिज मर्टेन्स र मारुआन फेलानी बेन्चबाट मैदान प्रवेश गरेका थिए । सन् २००२ पछि पहिलो पटक विश्वकप खेलेको बेल्जियमले २०१४ मा समूह विजेता बन्दै क्वार्टरफाइनलसम्म यात्रा तय गरेको थियो । 

त्यसपछि २०१८ मा सेमिफाइनल पुगेर तेस्रो स्थान हाँसिल गर्‍यो। यही टिमका अधिकांश खेलाडीले युरो २०१६ र युरो २०२० मा पनि क्वार्टरफाइनलसम्मको यात्रा तय गरे । तर, कतारमा विश्वकप २०२२ मा भने टोली समूह चरणबाटै बाहिरिनु अचम्मको विषय बन्यो ।

धेरै फुटबल विश्लेषकको भनाइ छ कि– यति प्रतिभाशाली टोलीले अझ धेरै सफलता हासिल गर्नुपथ्र्यो । तर, १ करोड २० लाखभन्दा कम जनसंख्या भएको देशका लागि विश्व फुटबलमा ठूलो सफलता अपेक्षा गर्नु कति यथार्थपरक थियो होला त ?

सन् २०२२ को विश्वकपमा तेस्रो भएको टिमसँग रोबर्टो माटिनेज प्रशिक्षक थिए । त्यसैले पनि यो टिमसँग आशा हुनु स्वभाविक पनि हुन्थ्यो । तर, यो उपलब्धि अहिले धेरैले बिर्सिएका छन् । तर, कतिपयले स्वर्णिम पुस्ता हुनका लागि गोल्ड नै जित्नुपर्ने भन्दै यो टिमलाई ग्लोरिफाइ गरिएको भनि आलोचना पनि गर्छन् । 

यद्यपि लुकाकु, डे ब्रुइन, टिलेमान्स र ट्रोसार्डजस्ता खेलाडी हुनुले बेल्जियममा अपेक्षा स्वतः बढ्ने नै थियो । तर, उनीहरुले जे जिते, त्योभन्दा धेरै अपेक्षा गर्नु उचित हो कि होइन त्यो चाहिँ भन्न गाह्रो छ । अहिलेकै स्थितिमा इंग्ल्यान्डको खेला हेर्दा होस् या युरो जितेर पनि विश्वकपमा छनोट हुन नसकेको इटली अनि उकालो लागिरहेको स्पेनजस्ता टोलीसँग तुलना गर्दा बेल्जियमले अनिवार्य विश्वकप जित्नुपथ्र्यो भन्नु चाहिँ सायद धेरै ठूलो अपेक्षा हुनसक्छ ।

बेल्जियमका प्रशिक्षक रुडी गार्सियाको भनाई मान्ने हो भने, चर्चित खेलाडी लिएन्ड्रो ट्रोसार्ड, ब्रान्डन मेचेल, टिमोथी कास्टान्ये, हान्स भानाकेन र थोमस मुनिएले पनि सम्भवतः आफ्नो अन्तिम विश्वकप खेलिसके । त्यसैले होला, शनिबार बिहान स्पेनसँग पराजित भएपछि प्रशिक्षक गार्सियाले अब राष्ट्रिय टोलीमा नफर्कने खेलाडीका लागि भने आफूलाई दुःख लागेको बताएका छन् । 

उनी चाहन्थे – अनुभव भएका खेलाडीले अन्तिम पटक केही विशेष गर्न सकून् । तर, त्यो सम्भव भएन । अब बेल्जियमका युवा खेलाडीले यो विश्वकपबाट सिक्नेछन् । २५ वर्ष वा सोभन्दा कम उमेरका १३ खेलाडी रहेको यो टोलीले भविष्यप्रति आशावादी हुने आधार पनि छ । 

स्ट्राइकर चाल्र्स डे केटेलाएरले गत सिजन सिरी ‘ए’ मा ३१ खेलमा केवल तीन गोल गरेका थिए । तर, विश्वकपमा उनले तीन गोल गर्दै बेल्जियमका संयुक्त सर्वाधिक गोलकर्ता बने । उनले एक असिस्ट पनि गरे। साथै विंगरका लागि स्थान सिर्जना गर्न प्रभावशाली भूमिका खेले ।

२९ वर्षीय कप्तान युरी टिलेमान्सले अन्तिम–३२ मा सेनेगलविरुद्धको रोमाञ्चक पुनरागमन जितमा बराबरी र विजयी दुवै गोल गरेका थिए । २४ वर्षीय अमादु ओनानाले पनि उत्कृष्ट प्रदर्शन गरे । तर, अमेरिकाविरुद्ध उनलाई एन्टेरियर क्रुसिएट लिगामेन्ट एसीएलमा चोट लाग्यो । 

२४ वर्षीय जेरेमी डोकु पनि उच्च प्रतिभाका खेलाडी हुन् । यद्यपि उनले म्यानचेस्टर सिटीबाट देखाएको लय विश्वकपमा दोहोर्याउन चाहिँ सकेनन् । अन्तिम–१६ मा प्रतियोगिताको सह–आयोजक अमेरिकालाई ४–१ ले हराउनुअघि कोर्ट्वाले बेल्जियमको नयाँ युगको सुरुआत भएको बताएका थिए । उनलाई अहिले लागेको छ – अब बेल्जियमसँग नयाँ पुस्ता छ, युवा खेलाडीहरू छन् ।


Image

विनयज्योति सापकोटा

सापकोटा कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।