
रुकुम पश्चिम । अवैध बाटो हुँदै अमेरिका जान भनेर हिँडाइएका रूकुम पश्चिमका तीन जना युवा दुई वर्षदेखि सम्पर्कविहीन छन् ।
परिवारजनले आफ्ना छोराहरू खोजिदिन सम्बन्धित पक्षलाई अनुनय गरिरहेका छन् । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ७ खारखाराको यो घरमा दुई वर्षदेखि एउटै मान्छेको प्रतीक्षा छ, ती हुन् परिमल र भद्रकुमारीका जेठा छोरा २९ वर्षीय दीपक केसी ।
अमेरिका पुर्याइदिने लालच देखाएर २०८१ साल वैशाखमा मानव तस्करले दीपकलाई घरबाट हिँडाएका थिए । तर, त्यसको झन्डै दुई महिनापछि असार ८ गतेदेखि दीपकसँग परिवारको सम्पर्क टुटेको छ । आफ्नो नौजवान सन्तान हराएपछि यी बाबाआमाको पीरको पहाड चुलिएको छ ।
एकातिर छोरा हराएको पीर छ, अर्कोतिर अमेरिका पुर्याइदिन्छु भनेर दलालले लिएको ऋणको रकम उल्लेख गर्नु भारले उनीहरु थिचिएका छन् । अमेरिका जाने भनेर हराएका दीपक मात्र होइनन् । अवैध बाटो, अर्थात् 'डंकी रुट' हुँदै अमेरिका पुग्ने सपना बोकेर घरबाट निस्किएका आठबिसकोटकै दुई युवा पनि दुई वर्षदेखि सम्पर्कविहीन छन् ।
आठबिसकोट वडा नं. ९ राडीका पहल केसी र वडा नं. ७ औलका गोपाल केसी । यी तीनजना २०८१ असार ८ कै आसपास लिबियाबाट अन्तिमपल्ट परिवारसँग सम्पर्कमा आएयता बेपत्ता छन् । दुई वर्षयता यी तीन परिवारको जीवन एउटै पीडामा अडिएको छ - सन्तान हराएको असह्य पीडा र दलाललाई बुझाएको लाखौं लाखौं भनेको कति रुपैयाँ ऋणको घाउ ।
कक्षा १२ सम्मको अध्ययन गरेका दीपक अमेरिकातर्फ हिँड्नुअघि तीन वर्ष मलेसियामा काम गरेर फर्केका थिए भने पहल र गोपाल भने भर्खर एसईई परीक्षा उत्तीर्ण गरेका किशोर । यतिबेला दलालको नाम बताइहाल्न हच्किएका यी पीडित परिवारमध्ये दीपकका आफन्तले मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहल काठमाडौंमा उजुरी गरे पनि यसको सुनुवाइ नभएको गुनासो गरेका छन् ।
पहल र गोपालका परिवारले पनि ५० लाखभन्दा धेरै रकम अमेरिकाकै चक्करमा गुमाएका छन् । तर, यी परिवारलाई अहिले पनि दलालकै भर छ । उनीहरुले एकातिर आफ्नो प्रियजनको अवस्थाबारे जानकारी मागिरहेका छन् भने अर्कोतिर डुबेको रकम फिर्ता ।
आठबिसकोटका यी तीनजना युवाहरु बेपत्ता भएको विषयमा घर-परिवार र आफन्तहरुलाई थाहा भए पनि प्रहरीले भने यस विषयमा जानकारी नभएको जनाएको छ ।