
काठमाडौं । काठमाडौं गोर्खाजले यसपटक युवा खेलाडी केन्द्रित रणनीति अपनाएको छ ।
करण केसीको नेतृत्वमा रहेको टिममा अलराउन्डरहरूको बाक्लो उपस्थिति छ । तर, ब्याटिङ लाइनअप भने कमजोर देखिन्छ । डेथ ओभरका लागि प्रभावकारी फास्ट बलर र थप स्पिन विकल्प उसको अर्को आवश्यकता हो ।
अक्सनपछि कस्तो बन्यो त काठमाडौं गोर्खाज ?
काठमाडौं गोर्खाजले यसपटक युवा शक्तिमा भरोसा देखाएको छ । कम खर्चमा सन्तुलित टोली निर्माण गर्ने रणनीतिसहित तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका लागि टोलीले भविष्यका सम्भावनायुक्त खेलाडी भित्र्याएको देखिन्छ ।
कप्तान तथा मार्की करण केसी टोलीका प्रमुख अलराउन्डर हुन् । उनले फास्ट बलिङसँगै तल्लोक्रममा आक्रामक ब्याटिङ गर्न सक्छन् । भीम शार्की शीर्षक्रममा ब्याटिङ गर्नेछन् । उनलाई इनिङ्स सम्हाल्ने जिम्मेवारी हुनेछ । मोहम्मद आदिल आलमको मिडियम पेससहित आक्रामक ब्याटिङ गोर्खाजको बलियो पक्ष हो ।
रशिद खानले मध्यम तीव्र बलिङसँगै तल्लो क्रममा उपयोगी ब्याटिङ गर्ने क्षमता राख्छन् । स्लो लेप्ट आर्म अर्थोडक्स शाहब आलमले टिमको स्पिन बलिङको नेतृत्व गर्नेछन् । ५ लाखमा टिममा सामेल शाहिल पटेल विकेटकिपर ब्याटर हुन् । प्रसिद्ध जैसी अलराउन्डरका रूपमा ब्याटिङ र अफ स्पिन दुवैमा उपयोगी हुने छन् ।
दयानन्द मण्डल बायाँहाते मध्यम तीव्र गतिका बलर हुन् भने सोनु देवकोटा लेगस्पिनमार्फत मिडल ओभरमा प्रभाव पार्न सक्छन् । कृष्ण पौडेल र सूयान्शु कोइरालाजस्ता युवा खेलाडीहरू भविष्यका लगानी हुन् । देव शाहले स्पिन विभागमा सहयोग गर्न सक्छन् ।
शाहिलबाहेक अक्सनबाट टिममा सामेल अन्य सबै खेलाडीका लागी गोर्खाजले समान २–२ लाख रुपैयाँ खर्च गरेको थियो । यस टोलीको सबैभन्दा बलियो पक्ष भनेको अलराउन्डरहरूको बाक्लो उपस्थिति हो । तर, टिमको ब्याटिङ लाइनअप भने निकै कमजोर देखिन्छ ।
उसले ओपनर जोडीसहित शीर्षक्रमका ४ मध्ये ३ खेलाडीको कोटा विदेशी खेलाडीबाट पूरा गर्नुपर्ने देखिन्छ । जसमध्ये एक जना विकेट किपर हुनु आवश्यक छ भने स्पिन अलराउन्डरको आवश्यकता पनि यहीँबाट पूरा गर्नुपर्नेछ । साथै आक्रामक फिनिसर र डेथ ओभरमा बलिङ गर्ने फास्ट बलरको आवश्यकता पनि छ ।
उसो त गोर्खाजले रिटेन गरेका सबै खेलाडीसँग धेरथोर अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव छ । तर, करण केसी र भीम सार्कीबाहेक अन्य खेलाडी राष्ट्रिय टिमका नियमित सदस्य होइनन् । भीम पनि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा मात्र सीमित छन् र पछिल्लो सयम उनी प्लेङ ११ बाट पनि बाहिर रहँदै आएका छन् ।
अनुभवको कमी पनि टिमको कमजोर कडी हो । त्यसकारण विदेशी खेलाडी हस्ताक्षर गर्दा र ट्यालेन्ट हन्टमार्फत खेलाडी छनोट गर्दा गोर्खाजले धेरै पक्ष ख्याल गर्नुपर्ने देखिन्छ । गत सिजन लिगको तेस्रो स्थानमा रहँदै प्लेअफसम्मको यात्रा तय गरेको गोर्खाजले यसपटक कस्तो प्रदर्शन गर्ला ?