विश्वकपमा आज दुई महाभिडन्त, सेमिफाइनलको चित्र पूरा हुँदै

असार २७, २०८३ |अभय बस्नेत
विश्वकपमा आज दुई महाभिडन्त, सेमिफाइनलको चित्र पूरा हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ अब सबैभन्दा रोमाञ्चक मोडमा आइपुगेको छ । 

शनिबार हुने दुई क्वार्टरफाइनल खेलसँगै प्रतियोगितामा केवल चार टोलीमात्र बाँकी रहनेछन्। विश्वकपमा फ्रान्स र स्पेनले यसअघि नै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरिसकेका छन्। अब बाँकी दुईवटा सेमिफाइनल स्थानका लागि शनिबार चार टोलीबीच प्रतिस्पर्धा हुँदैछ। 

मियामीमा युरोपेली प्रतिद्वन्द्वी नर्वे र इङ्गल्यान्ड भिड्दा क्यान्सास सिटीमा साविक विजेता अर्जेन्टिनाले स्विट्जरल्यानडको सामना गर्नेछ। मियामीको हार्ड रक स्टेडियममा हुने पहिलो खेललाई विश्वका दुई उत्कृष्ट 'नम्बर ९' स्ट्राइकरहरू अर्लिंग हालान्ड र ह्यारी केनबीचको महासंग्रामको रूपमा हेरिएको छ। 

हालान्ड र केन दुवैले यस विश्वकपमा आ-आफ्नो टोलीलाई यहाँसम्म ल्याउन उत्कृष्ट प्रदर्शन गरेका छन्। म्यानचेस्टर सिटीका गोल मेसिन हालान्डले मात्र ४ खेलमा ७ गोल गर्दै आफूलाई गोल्डेन बुटको बलियो दाबेदारको रूपमा प्रस्तुत गरेका छन् भने उता इङ्गल्यान्डका कप्तान केनले ५ खेलमा ६ गोल गरिसकेका छन् र उनी इङ्गल्यान्डका लागि विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी समेत बनेका छन्।

यी दुई स्ट्राइकरको शैली भने निकै फरक छ। हालान्ड आफ्नो शारीरिक क्षमता र भर्टिकल स्पेसको प्रयोग गरी रक्षापङ्क्तिलाई ध्वस्त बनाउन माहिर छन्। अर्कोतर्फ, ३२ वर्षीय केन 'डीप-लायिङ फरवार्ड' को रूपमा मिडफिल्डमा झरेर खेल बनाउन र अन्य खेलाडीहरूका लागि अवसर सिर्जना गर्न खप्पिस छन्। 

यो क्वार्टरफाइनलको सबैभन्दा ठूलो व्यक्तिगत भिडन्त हुने निश्चित छ। रणनीतिक रूपमा यो खेल मिडफिल्डको लडाईंमा पनि निर्भर रहनेछ। आर्सनलका दुई टिममेट मार्टिन ओडेगार्ड र डिक्लान राइस शनिबार राति एकअर्का विरुद्ध मैदानमा उत्रनेछन्। 

ओडेगार्ड नर्वेको मिडफिल्ड इन्जिन हुन् भने राइसले इङ्गल्यान्डको रक्षापङ्क्तिलाई थप मजबुत बनाउँनेछन् । नर्वेका प्रशिक्षक स्टाल सोल्बाक्केनले हालान्डलाई मुख्य हतियार बनाउँदा थोमस टुचेल केन, जुड बेलिङ्घम र बुकायो साका जस्ता खेलाडीमा भर पर्नेछन्। 

ऐतिहासिक रूपमा नर्वे पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेर इतिहास रचिरहेको छ भने इङ्गल्यान्ड सन् २०१८ पछि पुनः सेमिफाइनलमा फर्कने दाउमा छ। मियामीपछि विश्वकप क्वार्टरफाइनलको रौनक क्यान्सास सिटीमा सर्नेछ, जहाँ साविक विश्व विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्डसँग भिड्नेछ। 

अर्जेन्टिनाका लागि ३९ वर्षीय लियोनेल मेस्सी पुनः एक पटक संकटमोचक बनेका छन् । उनले यस प्रतियोगितामा ८ गोल गरिसकेका छन् र विश्वकप इतिहासमै २१ गोलका साथ शीर्ष स्थानमा रहेका छन्। अघिल्लो खेलमा इजिप्टविरुद्ध दुई गोलले पछि परेको अवस्थामा मेस्सीको कप्तानीमा अर्जेन्टिनाले नाटकीय पुनरागमन गरेको थियो।

तर, अर्जेन्टिनाका लागि यो यात्रा सहज हुने छैन। मुरात याकिनको नेतृत्वमा रहेको स्विट्जरल्यान्ड यो विश्वकपको सबैभन्दा अनुशासित रक्षापङ्क्ति भएको टोली मानिन्छ। उनीहरूले अहिलेसम्म एक गोल मात्र खाएका छन्। गोलकिपर ग्रेगोर कोबेल उत्कृष्ट फर्ममा छन् र कोलम्बिया विरुद्धको पेनाल्टी सुटआउटका नायक पनि उनि नै थिए। 

स्विट्जरल्यान्डले अर्जेन्टिनाको आक्रामक शैलीलाई रोक्न 'लो-ब्लक' रणनीति अपनाउने अपेक्षा गरिएको छ। अर्जेन्टिनाका लागि यो सेमिफाइनलको यात्रा डिफेन्डिङ च्याम्पियनको साख जोगाउने अवसर हो भने स्विट्जरल्यान्डका लागि सन् १९५४ पछि पहिलो पटक अन्तिम चारमा पुगेर इतिहास रच्ने मौका ।

विश्व फुटबलका यी दुई ठूला भिडन्तहरूले शनिबारको रातलाई अविस्मरणीय बनाउने निश्चित छ । फ्रान्स र स्पेनले सेमिफाइनलमा एकअर्काको सामना गर्ने पक्का भइसकेको छ। अब प्रश्न यो छ कि, उनीहरूलाई सेमिफाइनलको यात्रामा कसले साथ दिनेछ? 


Image

अभय बस्नेत

बस्नेत कान्तिपुर टेलिभिजनको स्पोर्ट्स ब्युरोमा कार्यरत छन् ।