काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले २०८२ को मंसीर मसान्तसम्म कांग्रेसको अधिवेशन हुन नसके पार्टी कमजोर बन्ने बताउनुभएको छ ।शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कांग्रेसको अधिवेशन २०८२ मंसीर मसान्तसम्म भएन भने नेपाली कांग्रेस कमजोर हुँदै जाने भन्दै त्यसमा ध्यान दिन आग्रह गर्नुभयो ।
उहाँले आफूहरूले समयमै अधिवेशन हुनुपर्छ भनेर आवाज नउठाए कसैले उठाउन नसक्ने बताउनुभयो । उहाँले सामाजिक सञ्जालमा २०८२ को मंसीर मसान्तसम्म महाधिवेशन हुनुपर्छ भनेर लेख्न आफू निकट नेता/कार्यकर्ताहरूलाई निर्देशन पनि दिनुभयो । सबैले दबाब दिए पार्टीले थेग्न नसक्ने जिकिर गर्नुभयो ।
सांसद कोइरालाले भन्नुभयो, “नेपाली कांग्रेसको अधिवेशन २०८२ मंसीर मसान्तसम्म भएन भने नेपाली कांग्रेस कमजोर हुँदै जान्छ । त्यतातिर ध्यान दिऔं हौं साथीहरू । एकदम सिरियस कुरा छ यो । हामीले आवाज उठाएनौं भने कसैले आवाज उठाउँदैन । अधिवेशन तपाईंहरूलाई चाहिएको छ । हामी जस्तालाई चाहिएको छ । त्यसकारण तपाईंहरूले आवाज उठाउन जरुरी छ ।
उहाँले नेपाली कांग्रेस अधिवेशनबाटै चलायमान हुने बताउँदै को जित्छ र को हार्छ भन्ने महत्त्वपूर्ण नभएको बताउनुभयो ।