काठमाडौं । प्रमुख राजनीतिक दलहरूले पूर्वराजा ज्ञानेन्द्र शाह र उहाँका समर्थकका पछिल्ला गतिविधि संविधानविरोधी र बेमौसमी भएको निष्कर्ष निकाल्दै त्यसविरुद्ध सबै एकजुट हुनुपर्ने प्रतिक्रिया जनाएका छन् । औपचारिक बैठक तथा सार्वजनिक कार्यक्रममार्फत् पूर्वराजाका गतिविधिको आलोचना गरेका उनीहरुले आवश्यक पर्दा आफूहरु सबै एकै स्थानमा रहने जनाएका छन् । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले सरकारका कामकारबाहीले परिस्थिति बिग्रिएको आरोप लगाए पनि संविधान रक्षाका लागि लोकतन्त्रवादी शक्तिहरू एक हुनुपर्ने धारणा राखेको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाह र उहाँका समर्थकहरूले गतिविधि बढाएपछि पार्टीको मधेश जागरण अभियान नै स्थगन गरेर काठमाडौं फर्किएको माओवादी केन्द्रले पदाधिकारी तहमा मात्रै होइन अन्य मोर्चामा समेत छलफल गरेको छ । सरकारकै गतिविधिका कारण यस्ता गतिविधि बढेको आरोप लगाएको माओवादीले यस विषयमा विपक्षीहरू सबै एक ठाउँमा उभिनुपर्ने निर्णय गरेको छ ।
एकीकृत समाजवादीले पनि पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्दै संविधानको रक्षा गर्न सबै राजनीतिक शक्ति एक हुनुपर्ने निष्कर्ष निकालेको छ । सोमबार नै बसेको समाजवादी मोर्चाको बैठकले पनि यस्ता गतिविधि स्वीकार गर्न नसकिने निष्कर्ष निकालेको छ ।
राजतन्त्र समर्थकहरूको सभामा देखिएको भारत उत्तर प्रदेशका मुख्यमन्त्रीको तस्बिरबारे विभिन्न टीकाटिप्पणी मात्रै भएन राप्रपाका नेताहरूले सरकारकै निर्देशनमा राखिएको समेत टिप्पणी गरे । तर यो विषयमा प्रधानमन्त्री स्वयंले प्रतिक्रिया दिँदै आफूहरू विदेशीकै तस्बिर राख्नुपर्ने अवस्थामा नरहेको र त्यति कमजोर नभएको प्रतिक्रिया दिनुभयो ।
उता धनगढी पुगेका नेपाली कांग्रेसका नेताहरूले अहिले राजतन्त्रका पक्षमा हल्ला गर्नुको कुनै अर्थ नरहेको धारणा राखे ।
दलहरूका पछिल्ला प्रतिक्रियाले आन्तरिक मतभेदलाई छाडेरै पनि आवश्यक परे एक भएर अगाडि बढ्न सकिने संकेत दिएका छन् । तर उनीहरूले आफ्नै गतिविधिका कारण प्रश्न उठिरहेको तर्फ सचेत त हुनुपर्छ नै, सरकारका गतिविधि र सुशासनतर्फ बढी ध्यान केन्द्रित भइरहेको छ भन्ने सन्देश पनि दिनसक्नु पर्नेछ ।