काठमाडौं स्कुल अफ लका विद्यार्थी भन्छन्- दुर्व्यवहारका थप विवरण सार्वजनिक गर्छौं

फाल्गुन २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
काठमाडौं स्कुल अफ लका विद्यार्थी भन्छन्- दुर्व्यवहारका थप विवरण सार्वजनिक गर्छौं

काठमाडौं । 'काठमाडौं स्कुल अफ ल' मा आफूहरूमाथि दुर्व्यवहार हुने गरेको आरोप लगाउँदै आएका विद्यार्थीहरूले यस विषयमा थप विवरण सार्वजनिक गर्दै जाने बताएका छन् । कान्तिपुर टेलिभिजनसँग कुरा गर्दै पीडित विद्यार्थीले कलेजमा विद्यार्थीसँग दुर्व्यवहार हुने गरेको र कार्यकारी निर्देशकको आचरणमा कारण धेरै जना पीडित भइरहेको बताइन् । 

यी सबै विषय समेटेर केही दिनमै भिडिओ सार्वजनिक गर्ने पीडित विद्यार्थीको भनाइ छ । पीडित विद्यार्थीले आइतबार मात्र सामाजिक सञ्जालमा पोस्ट गर्दै कलेजमा विषाक्त वातावरण भएको, दुर्व्यवहार हुने गरेको र त्यसको प्रतिवाद गर्दा आफूहरूको करिअर नै बर्बाद गरिदिने भनेर धम्काइने गरेको आरोप लगाएका छन् । पूर्वमहान्यायाधिवक्ता समेत रहेका कलेजका कार्यकारी निर्देशक युवराज संग्रौलाले समेत गलत शब्द प्रयोग गरी दुर्व्यवहार गर्ने गरेको विद्यार्थीहरूको आरोप छ ।

कान्तिपुर टेलिभिजनसँग कुरा गर्दै गत मंसीर २० गते नै आफूले कलेजमा यस प्रकारका दुर्व्यवहारबारे लिखित निवेदन दिएको तर पनि कलेजले कुनै कदम नचालेपछि सामाजिक सञ्जालमा पोस्ट गर्न बाध्य भएको पीडित विद्यार्थीको भनाइ छ ।

कलेज प्रशासनले हालसम्म यस विषयमा कुनै प्रतिक्रिया जनाएको छैन । कान्तिपुरले बुझ्न खोज्दा कलेज प्रशासनले तत्काल कुनै प्रतिक्रिया नजनाउने भन्दै छिट्टै आधिकारिक धारणा सार्वजनिक गर्ने बताएको छ ।

यसैबीच नेविसंघले एक विज्ञप्ति जारी गर्दै काठमाडौं विश्वविद्यालमा अध्ययनरत एक छात्राले आफूमाथि यौन उत्पीडन तथा लैंगिक दुर्व्यवहार गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पीडितलाई न्याय दिलाउन आफूहरू लागिपर्ने नेविसंघको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement