जुलुस निकाल्दा विदेशीको तस्बिर राख्नुपर्ने दयनीय अवस्थामा छैनौं : प्रधानमन्त्री ओली

फाल्गुन २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
जुलुस निकाल्दा विदेशीको तस्बिर राख्नुपर्ने दयनीय अवस्थामा छैनौं : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई लक्षित गर्दै जुलुस निकाल्दा विदेशीको तस्बिर राख्नुपर्ने दयनीय अवस्थामा आफूहरू नरहेको टिप्पणी गर्नुभएको छ । सोमबार गैरसरकारी संस्था महासंघको ११ औं महाधिवेशन तथा नागरिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गर्नुभएको हो । 

पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किंदा स्वागतका लागि जम्मा भएका राजावादी समर्थकहरूले आफ्नो प्रदर्शनमा भारतीय नेता तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर प्रयोग गरेका थिए । उहाँले असंवैधानिक, प्रजातन्त्र विरोधी, पद्धति विरोधी र प्रणाली विरोधी कुरामा लाग्न आफूहरूलाई फुर्सद नभएको समेत बताउनुभयो । उहाँले दरबार हत्यकाण्ड अझै सम्झिरहेको उल्लेख गर्दै विभत्सतामा आएका संस्थाका सर्मथकहरूका क्रियाकलाप यस्तै हुने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी एउटा जुलुस निकाल्नुपर्‍यो भने विदेशीको फोटो राखेर जुलुस निकाल्नुपर्ने दयनीय हालतमा छैनौं । हामी आफैंसँग विचार छ, आफैंसँग नेता छन् । हामी यसको दृष्टान्त दिनसक्छौं । हामी आफैंले गरेका छौं । त्यसमा केही भयो भने केपी ओलीले मान्छे घुसायो भन्नुहुन्छ, त्यो जुलुस नै मैले गराइदेको हो, भयो । हामी आफ्नै कुरामा छौं । यस्ता फाल्तु, असंवैधानिक, प्रजातन्त्र विरोधी, पद्धति विरोधी, प्रणाली विरोधी कुरामा हामी लाग्नु हुँदैन । दरबार हत्याकाण्ड हामीले सम्झेका छौं । यो विभत्सतामा आएका संस्थाहरूका सर्मथकका क्रियाकलापहरू यस्तै हुन्छन् । यसमा धेरै नजाऔं, छोडिदिऔं ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement