प्रधानमन्त्री ओलीका अकर्मण्य अभिव्यक्ति

फाल्गुन २६, २०८१ |प्रकाश बम
प्रधानमन्त्री ओलीका अकर्मण्य अभिव्यक्ति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बेलाबेला सार्वजनिक कार्यक्रममा उखान टुक्का जोडेर अभिव्यक्ति दिन खप्पिस हुनुहुन्छ । कहिलेकाहीँ त्यस्ता अभिव्यक्ति विवादित समेत हुने गरेका छन् । आज एकैदिन चार वटा छुट्टाछुट्टै कार्यक्रममा सहभागी हुनुभएका प्रधानमन्त्री ओलीले त्यस्तै अभिव्यक्ति दिनुभयो । ओलीले रोजगारी सिर्जना गर्नेदेखि शिक्षा क्षेत्रसम्मका विषयमा विवाद सिर्जना हुने अभिव्यक्ति दिनुभएको हो ।

काठमाडौंमा 'राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन' लाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमशीलताको विकास नगरी आकाशबाट रोजगारी नझर्ने टिप्पणी गर्नुभयो । उहाँले यो भनिरहँदा रोजगारीका अवसर सिर्जना गर्ने दायित्व सरकारको हो भन्ने चाहिँ उहाँले भुल्नुभयो ।

रोजगार सम्मेलनबाट सीधै गैरसरकारी संस्था महासंघको कार्यक्रममा पुगेका प्रधानमन्त्री ओलीले अर्को अनौठो अभिव्यक्ति दिनुभयो । उहाँले गैरसरकारी संस्थालाई आत्मनिर्भरताको बाटोमा लाग्न सुझाव दिनुभयो । गैरसरकारी संस्था गैरनाफामूलक भएकाले प्रधानमन्त्रीले भने जसरी कसरी आत्मनिर्भर हुन्छन् भन्ने प्रश्नको उत्तर भने उहाँको अभिव्यक्तिमा भेटिएन ।

त्यहाँबाट ओली पुग्नुभयो, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनको कार्यक्रममा । त्यहाँ प्रधानमन्त्रीले पाँच वर्षभित्र निजी विद्यालयलाई गुठीमा लानुपर्ने प्रस्ताव कसरी आयो भनेर आफूलाई जानकारी नै नभएको अभिव्यक्ति दिनुभयो । उहाँले ढुक्क भएर लगानी गर्न निजी विद्यालयहरुलाई ढाडस दिनुभयो ।

प्रधानमन्त्री ओलीले प्याब्सनलाई खुशी बनाउन यति मात्र बोल्नुभएन, सामुदायिक विद्यालयको गुणस्तर खस्केकाले एसईईको नतिजा कमजोर आएको भन्दै निजी विद्यालय नहुने हो भने शिक्षाको गुणस्तर अझ खराब हुने दाबी गर्नुभयो । त्यति मात्रै नभएर निजी विद्यालयले सक्दो नाफा कमाउन सक्नेसम्मका अभिव्यक्ति पनि प्रधानमन्त्रीले दिनुभयो ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र निजी विद्यालयका प्रतिनिधिलाई दायाबायाँ राखेर प्रधानमन्त्री ओलीले ग्रामीण क्षेत्रका कम विद्यार्थी भएका विद्यालयको समेत आलोचना गर्न भ्याउनुभयो । उहाँले पहाडका विद्यालयमा विद्यार्थी कम हुने गरेको प्रसंगलाई जोडेर गाउँका विद्यालयमा पढ्दै नपढेका शिक्षक राखे पनि हुने बताउनुभयो ।

तर राज्यले अर्बौं लगानी गरेका सामुदायिक विद्यालयको स्तर सुधार कसरी हुने भन्नेबारे उहाँका कुनै शब्दले सम्बोधन गरेन ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement