कपिलवस्तु । नेपाल-भारत सीमामा रहेको कपिलवस्तुस्थित बजाहासागरलाई रामसार सूचीमा राख्न पहल थालिएको छ । यसका लागि दुई देशका अधिकारीले स्थलगत अवलोकन गरी काम अघि बढाएका छन् । दुई देशको एउटै रामसार क्षेत्र दक्षिण एसियाभरि कतै नभएकाले यो काम नौलो हुने संरक्षणकर्मीहरू बताउँछन् ।
बजाहासागर दुवै देशको राम्रो सिमसार क्षेत्र हो । सागर आसपास विश्वकै मनमोहक पन्छी सारसको चहलपहल देखिन्छ । नेपालमा सबैभन्दा धेरै एक सयदेखि डेढ सय सारस यहीँ देखिन्छन् । प्रजननका बेला जेठ असारमा यो संख्या साढे दुई सयसम्म पुग्छ । सारसका लागि दुवै देशको उर्वरभूमि हो बजाहासागर । त्यसैले नेपाली चराविद्को अग्रसरतामा दुई देशको एउटै रामसार साइट बनाउन पहल थालिएको हो ।
यो ठाउँमा दुवै मुलुकका सरोकारवालालाई राखेर ३ दिने सारस संरक्षण इन्डो-नेपाल ट्रान्सबोर्डर डाइलग गरियो । डब्लूडब्लूएफ नेपाल र इन्टरनेशनल क्रेन फाउन्डेसन-आईसीएफको सहयोगमा त्रिभुवन विश्वविद्यालय, प्राणीशास्त्र केन्द्रीय विभाग र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागद्वारा आयोजित कार्यक्रममा सहकार्य गरेर अघि बढने प्रतिबद्धता गरिएको छ । अब बजाहासागर आसपास सारससँगै अरू चरा, स्तनधारी, वन्यजन्तु र वनस्पति के के पाइन्छन् भनेर अध्ययन गरिने सहमति भएको छ । नेपालतिर नेपालका अधिकारी र भारततिर त्यहाँका अधिकारीले अध्ययन गरेर फेरि छलफल गर्नेछन् ।
“बाघ हात्ती जस्ता ठूला जनावरलाई ट्रान्स बाउन्ड्री कार्यक्रम चलाइए पनि सारसका लागि हुन सकेको थिएन तर सारस संरक्षण गर्न पनि ट्रान्स बाउन्ड्री कार्यक्रम चलाएर दुवै देशले समन्वय गरेर संरक्षण गर्नुपर्छ”, प्रकृति संरक्षण समाज भारतका सचिव चराविद् डा. राजीव चौहानले बताउनुभयो ।
सुरुमा चराका लागि दुवै मुलुकको महत्त्वपूर्ण चरा विशेष क्षेत्र घोषणा गरेर अघि बढ्ने तयारी छ । त्यसपछि बजाहासागरलाई रामसार क्षेत्रमा सूचीकृत गराउने तयारी गरिनेछ । डब्लूडब्लूएफ नेपालले सरकारसँग समन्वय गरिरहेको छ । डब्लूडब्लूएफ विश्वव्यापी संस्था भएकाले भारततिर पनि समन्वय भइरहेको छ । स्रोत खोज्ने काम अमेरिकामा मुख्यालय रहेको इन्टरनेशनल क्रेन फाउन्डेसन-आईसीएफले गरिरहेको छ ।
“ज्ञान आदान–प्रदान र संयुक्त अनुसन्धान कामले दुवै देशलाई उत्कृष्ट अभ्यासहरू साझेदारी गर्न र यस अद्भूत पन्छीको संरक्षणका लागि प्रभावकारी रणनीति विकास गर्न मद्दत पुर्याँउछ । यसको संरक्षण प्रयासले सारस संरक्षित भई पारिस्थितिकी सन्तुलित भएर स्थानीय समुदायलाई पनि फाइदा पुर्याउँछ”, वन्यजन्तु विज्ञान विभाग, लखनउ विश्वविद्यालय, भारतका प्रमुख डा. अमिता कनौजियाले बताउनुभयो ।
बजाहासागरको भारततिर करिब १७० हेक्टर र नेपालतिर ८० हेक्टर पर्छ । सागरको बीचतिर सीमा स्तम्भ छ । भारतले सिँचाइका लागि सागरमा बाँध बनाएको छ । बर्खामा पानी बढी भए पनि अरू बेला चरालाई उत्कृष्ट वातावरण हुन्छ । चारैतिर खाद्यान्न बालीनाली र केही ठाउामा जंगली धान फल्ने हुँदा चरालाई आहारविहारको पनि समस्या छैन ।