काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं महानगरमा जरिवाना बुझाएको छ । राप्रपाले आज महानगरपालिकाले तोकेको एक लाख रुपैयाँ जरिवाना बुझाएको हो ।
पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेट परिसर, तिलगंगा, गौशाला लगायत क्षेत्रमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले राप्रपालाई जरिवाना तोकेको थियो ।
राप्रपा प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीले फेसबुकमा तस्बिर राख्दै लेख्नुभएको छ, “हामी राप्रपा सुशासन मान्छौं र विधिको शासन मान्छौं । राजाको स्वागतमा आएका लाखौं आमाबुबा दाजुभाइ बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान् । महानगर नगरपालिकाको निर्णयलाई हामी स्वीकार्दछौं l रु १ लाख रुपैयाँ हामीले काठमाडौं महानगरपालिकाको खातामा दाखिला गरेका छौं ।”
महानगरले आइतबार जथाभावी रूपमा फोहोरमैला समेत गरी वातावरण प्रदूषण गरेकामा फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम राप्रपालाई एक लाख जरिवाना गरेको थियो ।