जनकपुर/ महाेत्तरी/ राैतहट । पहिलो सविंधानसभाको निर्वाचनबाट देशको सबैभन्दा ठूलो पार्टीको रुपमा उदय भएको माओवादी केन्द्र हाल तेस्रो नम्बरमा झरेको छ । त्यसैले हुनुपर्छ असन्तुष्ट नेता कार्यकर्ता र समर्थकलाई फकाउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तराई मधेश जागरण अभियानमा हिड्नुभएको छ ।
पछिल्लो राजनीतिक घटनाक्रमले हाललाई स्थगित भएको यो अभियानमा विगतका कमी कमजोरी सच्याएर पुरानो साख फर्काउने माओवादीको रणनीति छ । अध्यक्ष पुष्पकमल दाहाललगायत माओवादी केन्द्रका शीर्ष नेताले जनतासँग माओवादीः तराई-मधेश जागरण अभियानअन्तर्गत मधेश प्रदेशको दौडाहा गरे ।
सप्तरीबाट सुरु भएको यो यात्रा अहिलेलाई रौतहट पुगेर स्थगन भएको छ । यस क्रममा माओवादी अध्यक्ष दाहालले मधेशमा गरेको सभाजुलुस र विभिन्न घटनासँग सम्बन्धित पीडित परिवारहरुसँग गरेको भेटघाट र दिएको महत्व अर्थपूर्ण छ ।
अहिलेको राजनीतिक माहौल बुझ्न र आफ्नो पार्टीको उपस्थिति बलियो पार्न माओवादी नेतृत्व फागुन १२ गतेदेखि मेची-महाकाली पूर्वपश्चिम हुलाकी राजमार्ग केन्दि्रत तराईको दक्षिणी भेगको दौडाहामा निस्किएको हो ।
माओवादी केन्द्र हाल प्रतिपक्षमा छ । सरकारको कामकारवाहीसँग असन्तुष्ट जनमत तान्ने र आफ्नो पार्टीप्रतिको जनताको दृष्टिकोण बुझ्ने अवसरको रुपमा दाहालले यसलाई उपयोग गर्न खोजेको देखिन्छ ।
त्यसैले उहाँ जहाँजहाँ जानुहुन्छ नेताकार्यकर्ताको दलबलसहित बिहान सर्वसाधारणको जमघट हुने चौकचौराहामा चिया पिउन पुग्नुहुन्छ, अनि कहिले जातीय पोशाकमा सांस्कृतिक कार्यक्रम भइरहेको स्थलमा पुगेर अपनत्व दर्शाउनुहुन्छ । किसानका समस्या, दशगजा क्षेत्रलगायत भारतीय सीमाका भन्सार कार्यालय, शहिद परिवारसागको भेटघाट, राज्यबाट न्यायको पर्खाइमा रहेका पीडितहरुको घरघरमै पुगेर दाहालले आफू जनपक्षीय नेता भएको स्थापित गर्न खोजिरहनुभएको देखिन्छ ।
यस अभियानले नेता कार्यकर्ताहरुमा उत्साह र मनोबल बढेको दाबी गरिहेको माओवादी २०६४ सालको संविधानसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरि २ सय ३८ सिट जितेजस्तै ०८४ सालको निर्वाचनबाट यो शक्ति आर्जन गर्ने रणनीति बनाइरहेको छ । पार्टीभित्रको गुट-उपगुट र टुट-फुटपछि मधेशमा कमजोर भएको माओवादीले थालेको अभियानमा मधेश प्रदेशलाई दिएको महत्वबारे बुद्धिजीबीहरुको तर्क छ ।
पछिल्लो निर्वाचनको स्थिति हेर्ने हो भने मधेशमा माओवादी केन्द्र पाँचौं शक्ति हो । संघीय संसद्मा गत निर्वाचनमा प्रत्यक्षतर्फ यो पार्टीले एक सिट पनि जित्न सकेन भने माओवादी केन्द्रको चुनाव चिन्ह लिएर नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव विजयी हुनुभएको थियो ।
मधेश प्रदेशसभामा माओवादी केन्द्रका आठ जना सांसद् छन् भने मधेशका एक सय ३६ पालिकामध्ये माओवादी केन्द्रबाट नौं जना प्रमुख र नौं उपप्रमुख छन् । माओवादीबाट अलग्गिएर अन्य पार्टीमा लागेका र पार्टीबाट असन्तुष्ट भई मौन बसेका पुराना नेता कार्यकर्ता फकाउनेदेखि मधेशमा पार्टीले गरेको काम, त्यसको उपलब्धि चर्चा गर्दै माहोल बनाउने काम अभियानभर चल्यो ।
कार्यकर्ताकै घरघरमा रातीको बास, खानपिन, संवाद, कोणसभा, आमसभाजस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेको माओवादीले मधेशका अन्य शक्तिलाई हेर्ने र अन्य शक्तिले माओवादीलाई हेर्ने दृष्टिकोणमा भने व्यापक अन्तर छ ।
झापाको कचनकबलबाट सुरुभएको अभियानमा अध्यक्षसागै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नि सापकोटा, महासचिव जनार्दन शर्मा, उपमहासचिवद्वय वर्षमान पुनः, गिरिराजमणि पोखरेल, देव गुरुङ्ग, पम्फा भुसाल, मातृकाप्रसाद यादवलगायतका नेताहरु सहभागी भए ।