काठमाडौं । भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा भएको नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद मुत्युबारे छानबिनको माग गर्दा निकालिएका अधिकांश नेपाली विद्यार्थी विश्वविद्यालय फर्किएका छन् । केआईआईटीबाट निष्कासित ९० प्रतिशत विद्यार्थी विश्वविद्यालय फर्किएका हुन् ।
आजदेखि हुने परीक्षामा सहभागी हुन असहज महसूस गरेका विद्यार्थीलाई पछि सहभागी हुने गरी आवेदन दिन प्रशासनले आग्रह गरेको छ । दोस्रो वर्षमा अध्ययनरत अधिकांश विद्यार्थीले पछि परीक्षा दिने गरी आवेदन दिएका छन् भने तेस्रो वर्षकाले अहिले नै परीक्षा दिइरहेका छन् ।
विश्वविद्यालयले बाँकी विद्यार्थी पनि फर्काउन पहल गरिरहेको जनाएको छ । अहिले विश्वविद्यालयको माहोल शान्त रहे पनि अधिकांश नेपाली विद्यार्थी कक्षामा गएका छैनन् । ओडिसा सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले घटनाबारे अध्ययन गरिरहेको छ । हाल भारतको मानवअधिकार आयोगको टोली समेत विश्वविद्यालयमा रहेको बताइएको छ ।