नेपाल मजदुर किसान पार्टीको आठौं महाधिवेशन आजबाट सुरू

फाल्गुन १६, २०८१ |सुन्दर शिल्पकार
नेपाल मजदुर किसान पार्टीको आठौं महाधिवेशन आजबाट सुरू

भक्तपुर । नेपाल मजदुर किसान पार्टीको आठौं महाधिवेशन आजबाट सुरू भएको छ । 

भक्तपुरको सल्लाघारी स्थित चौरमा आठौं महाधिवेशनको उद्घाटन गर्दै नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेले देश बिग्रार्ने काम ठूला र सत्ताधारी पार्टीले गर्दै आएको आरोप लगाउनु भयो । बिजुक्छेले राजतन्त्र र गणतन्त्र पुँजीपति वर्गको उत्थानकै लागि रहेको प्रष्ट भएकाले दुवै ब्यवस्था फेल भएको भन्दै समाजवादी ब्यवस्थाको विकल्प नरहेको बताउनुभयो ।

उहाँले वैदेशिक साहायताका नाममा तत्कालीन प्रधानमन्त्री र अर्थमन्त्रीलाई टुँडिखेलमा राखेर प्रश्न सोध्न आग्रह गर्नुभयो । 

पैसा खर्च गरेर ठूला-ठूला पार्टी बनाएर आम जनतालाई गिज्याउनेहरू वर्तमान अवस्थामा छटपटाईरहेको बताउँदै आफ्नो विवेकलाई विदेशमा बन्दक राखेर ठूला दलका नेताहरूले जनतामा भ्रम छर्ने काम बाहेक केहि गर्न नसेकेको बिजुक्छेको भनाई छ ।

महाधिवेशनमा करिब ५० जिल्लाबाट ४ सय महाधिवेशन प्रतिनिधि सहभागी भएको पार्टीका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाँईले जानकारी दिनुभयो ।

महाधिवेशनबाट पार्टीको आगामी नीति तथा योजनाहरूको विषयमा छलफल हुने जनाइएको छ ।

पार्टी स्थापनाकालदेखि नै अध्यक्ष हुनुभएका बिजुक्छेले आठौं अधिवेशनमा नयाँ नेतृत्व चयन गर्नुहुन्छ वा पुनः आफै दोहोरिनुहुन्छ भन्ने धेरैको जिज्ञासा रहेको छ । यसअघिको सातौँ महाधविशेनले बिजुक्छेको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो । जसमा २३ केन्द्रीय र दुई जना वैकल्पिक केन्द्रीय सदस्य रहेका थिए । यस वर्ष महाधिवेशनले बिजुक्छेलाई नै अर्को कार्यकालका लागि चुन्ने हो वा नयाँ नेतृत्व आउने हो भन्ने चासो छ । महाधिवेशन फागनु १९ गतेसम्म चल्ने जनाइएको छ ।


Image

सुन्दर शिल्पकार

शिल्पकार कान्तिपुर टेलिभिजनका भक्तपुर संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement