ताप्लेजुङ । विद्युतका कारण पाथीभरा जाँदै गरेका तिर्थयात्री मृत्यूको पीडा सेलाउन नपाउँदै मेरिङदेन गाउपालिका-१ थिङलावुको थुङथाप खवागु नजिकमा झण्डै एक दर्जन पशुचौपाया मरेका छन ।
वडाध्यक्ष सविन लिम्बूकाअनुसार बिजय लिम्बू एभेङका एक हल गोरू, एउटा बाच्छो, एउटा गाई, एउटा खसी र पाँचवटा बाख्रा बिजुलीको पोलकै छेउमा ढलेका हुन् ।
बिजयका १८ वर्षीय छोरा सन्तोष एभेङले शुक्रबार बेलुका खर्कबाट चराएर गोठमा फर्काउँदै गर्दा घटना भएको हो । सन्तोषका अनुसार बिजुलीको झड्का उनलाई पनि लागेको थियो ।
चराउन लगेका पशुचौपाया मध्ये आफ्नो छेउमा रहेको एउटा बाख्रोको खुट्टो तानेर बचाएको बाँकी सबै मरेको सन्तोषले बताउनुभयाे। सन्तोषको पनि स्थानीय स्वास्थ्य चौकिमा लगेर प्रारम्भीक स्वास्थ्य परिक्षण गरिएको थियो । आफ्नो स्वास्थ्य ठिकै रहेको उहाँले बताउनुभयाे । छेउमा आफ्ना पशुचौपाया पुग्दा बिजुलीको पोलमा आगो लागेको देखेको सन्तोषले जानकारी दिनुभयाे ।
वडाध्यक्ष सविनकाअनुसार तारको इन्सुलेटर फुटेर विद्युत प्रवाह भइरहेको तार पोलमा टासिएको र पोलमार्फत् जमीनमा करेन्ट प्रवाह भई पशुचौपायामा क्षति पुगेको अनुमान गरिएको छ ।
त्यहाँको विद्युत सेवा स्थानीय सहकारीले सञ्चालन गरेको थियो । यस घटनाका सम्बन्धमा विद्युत सहकारीलगायत सरोकारवालासँग शनिबार छलफल गर्ने र यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने विधिका विषयमा एउटा निश्कर्षमा पुग्ने गाउँपालिका अध्यक्ष युक हांविर हाङगामले जानकारी दिनुभयाे ।
बिजुलीको तार झरेका कारण गत वैशाख ८ गते विहान ताप्लेजुङ सदरमुकाम फुङलिङबाट पाथीभरातर्फ जाँदै गरेका चारजना तिर्थयात्रीको सेवारो चोक नजिकै मृत्यू भएको थियो भने दुईजना घाइते भएका थिए । विद्युतका कारण दिनानुदिन भइरहेको घटनाप्रति स्थानीयले चिन्ता व्यक्त गरेका छन ।