'मर्निङ वाक'सँगै जनभेटघाटमा व्यस्त छन माओवादी केन्द्रका अध्यक्ष दाहाल

जेष्ठ १०, २०८२ |महेश केसी
'मर्निङ वाक'सँगै जनभेटघाटमा व्यस्त छन माओवादी केन्द्रका अध्यक्ष दाहाल

रोल्पा । मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान थालेर जनभेटघाटमा व्यस्त हुनुहुन्छ प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल । भेला, प्रशिक्षण र जनसभाहरूमा भ्याइनभ्याई भैरहेका बेला जनतासँग नजिक हुन उहाँको टिमले हरेक दिन मर्निङ वाक गर्ने गरेको छ। 

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा माओवादी केन्द्रले 'जनतासंग माओवादी, मध्यपहाडी लोकमार्ग जनजागरण अभियान' अघि बढाएको छ । 

जेठ २ गतेदेखिको यस अभियानमा दाहालसहितका धेरै केन्द्रिय नेताहरू जिल्ला दौडाहमा छन । मध्यपहाडी लोकमार्गसँग जोडिएका गाउावस्तीहरूमा विभिन्न जनसभा, भेला र भेटघाटहरूमा निकै व्यस्त देखिएका नेताहरू जहाँ बास बस्छन् त्यसको भोलिपल्टको विहानीमा मार्निङ वाकमा सक्रिय हुने गरेका छन । 

विहानपख ठुलो दलबलसहित माओवादी नेताहरूको मर्निङवाकले सर्वसाधारणमा फरक प्रकारको आकर्षण र जिज्ञासा पैदा गर्ने गरेको छ ।

पूर्व प्रधानमन्त्री समेत रहेका पुष्पकमल दाहालले यस अभियान अन्तरगत विभिन्न ठाउँमा पुगेर जनभेटघाट गर्ने र विभिन्न प्रकारका कार्यक्रममा सहभागी हुने क्रममा उनको सुरक्षा व्यवस्था मिलाउन सम्बन्धित निकायलाई हम्मे-हम्मे पर्छ नै । झन् विहानपख यसरी हिडाइमा निस्किदा सुरक्षा चुनौती थप बढ्छ । तर यसरी विहानपख दाहालसहितका नेताहरूलाई सजिलै भेट्न पाउँदा सर्वसाधारणले भने खुसी व्यक्त गरे ।

नेताहरुका हरेक गतिविधिहरू आम मान्छेका लागि चासोका विषय हुन्छन् नै । यसमा पनि दलबलसहित बिहानै जनताको घर-आागनको बाटो हिडेपछि मान्छेहरूको चासो झन् धेरै बढ्ने गरेको छ । यसलाई दाहालले 'एक पथ दुई काम' भनेजस्तो एकातिर शारीरिक स्फुर्ती पनि बढ्ने अनि अर्कोतिर जनभेटघाट पनि हुने रूपमा लिनुभएको छ ।

मर्निङ वाकको बहानामा मात्रै नभएर अरू बेला पनि नेताहरू सकेसम्म सामान्य तरिकाले प्रस्तुत हुने र सहजै उपलब्ध हुने गर्नाले जनसम्पर्क र जनविश्वास पनि बढ्दै जानेछ ।


Image

महेश केसी

केसी रुकुम पश्चिम र रुकुम पूर्वका लागि कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।