काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले भ्रष्टाचारीहरू सरकारबाट संरक्षित भएको आरोप लगाएको छ । शनिबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले भ्रष्टाचारीहरू सरकारबाट संरक्षित भएको निष्कर्ष निकालेको हो ।
बैठकका निर्णय सुनाउँदै पार्टीका महासचिव घनश्याम भुसालले मुलुकमा भ्रष्टाचार मौलाएको आरोप लगाउनुभयो । उहाँले सहकारी ठगी, मिटरब्याजी, अनलाइन ठगीले गर्दा गरिब जनताको जीवन कष्टकर हुँदै गएको र लाखौं जनताले सहकारी राखेको बचत डुबेको बताउनुभयो । त्यस्ता भ्रष्ट तथा ठगहरूलाई नियन्त्रणमा लिई अविलम्ब कडाभन्दा कडा कारबाही गर्न र सम्बन्धित पक्षको पैसा फिर्ता गराउन सरकारसँग माग गर्ने निर्णय केन्द्रीय कमिटीले गरेको बताउनुभयो ।
मुलुकमा रोजगारीको अवसर नुहँदा युवा जनशक्ति विदेश पलायन हुने क्रम बढेको भन्दै यसले राष्ट्रिय उत्पादन र अर्थतन्त्रको विकासमा नकारात्मक प्रभाव पारेको बताउनुभयो । समग्र अर्थतन्त्रको पुनःगठन नगर्दासमम टालटुले नीति तथा कार्यक्रमबाट यो समस्याको समाधान हुन नसक्ने निष्कर्ष पार्टीको रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “लाखौं जनताले सहकारीमा राखेको बचत डुबेको छ । त्यस्ता भ्रष्ट तथा ठगहरूलाई नियन्त्रणमा लिएर अविलम्ब कडाभन्दा कडा कारबाही गर्न र सम्बन्धित पक्षको पैसा फिर्ता गराउन सरकारसँग माग गर्दछौं । मुलुकमा रोजगारीको अवसर नुहँदा युवा जनशक्ति विदेश पलायन हुने क्रम बढेको छ । यसले राष्ट्रिय उत्पादन र अर्थतन्त्रको विकासमा नकारात्मक प्रभाव पारेको छ । समग्र अर्थतन्त्रको पुनःगठन नगर्दासम्म टालटुले नीति तथा कार्यक्रमबाट यो समस्याको समाधान हुन सक्दैन । राष्ट्रिय अर्थतन्त्रलाई दिगो, रोजगारमुखी बनाउने दिशामा कदम लिन सरकारसँग माग गर्दछौं ।”