सरकार संसद् विघटन गर्न उद्यत छ : माओवादी उपाध्यक्ष सापकोटा

फाल्गुन ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
सरकार संसद् विघटन गर्न उद्यत छ : माओवादी उपाध्यक्ष सापकोटा

काठमाडौं । माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली संसद् विघटन गर्न लागिपरेको आरोप लगाउनुभएको छ । काठमाडौंमा आयोजित पार्टीको भ्रातृ संगठन प्रेस सेन्टरको अधिवेशनमा बोल्दै उहाँले आफू सभामुख हुँदा प्रधानमन्त्री ओलीले दुई पटक संसद् विघटन गरेको बताउनुभयो ।

संसद् विघटन गरेर मध्यावधि निर्वाचनमा जाने र बहुमत ल्याउने केपी ओलीको चाहना पूरा नहुने पनि सापकोटाले बताउनुभयो । उहाँले सरकारले अध्यादेश ल्याएर संसद्‌को अपमान गर्न खोजे पनि सरकार अध्यादेशको पासोमा परेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, “अझै पनि ठूला ठूला घटना घटाउन सक्छन् यिनीहरूले । फेरि म जोड दिएर भन्छु कि पहिला म सभामुख भएको बेलामा दुई पटकसम्म सदन विघटन गरेको थियो । आज पनि त्यतैतिर उद्यत छ यो सरकार र यो सरकारका प्रधानमन्त्री । झम्टी झम्टी दुई चोटी विघटन गरेको यो अध्यादेशका कुरा यो सबै फेरि पनि उहाँलाई के लागेको छ भने सदन विघटन गरेर चुनावमा गएँ भने मैले बहुमत ल्याउँछु भन्ने लाग्छ, बहुमत त हजार कोश टाढाको कुरा भयो, तर उनलाई त्यो लागिरहेको छ र सदन विघटन गर्नेतिर नै उद्यत भइरहेका छन् ।”

उपाध्यक्ष सापकोटाले जनताको आवाज मुखरित गर्ने संसद् विगत २३ दिनदेखि सरकारले कामविहीन भएको लज्जास्पद अवस्था बनाएको आरोप लगाउनुभयो । उहाँले विद्युत् प्राधिकरणका कार्यकारी अधिकृत तथा सुशासन पक्षमा काम गर्ने कर्मचारीलाई सरकारले प्रताडना दिई हटाउन खोजेको तर जनताको साथ भएकाले सरकार पछि हटेको दाबी गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement