साढे २ महिनादेखि काठमाडौं महानगरको आर्थिक गतिविधि ठप्प, विवादका कारण प्रशासकीय अधिकृत बिदामा

शिक्षक र कर्मचारीले पाएनन् तलब
फाल्गुन १२, २०८१ |कृपाल गौतम
साढे २ महिनादेखि काठमाडौं महानगरको आर्थिक गतिविधि ठप्प, विवादका कारण प्रशासकीय अधिकृत बिदामा

काठमाडौं । साढे २ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा काठमाडौं महानगरपालिकामा आर्थिक क्रियाकलाप ठप्प भएका छन् । महानगरसँगको विवादका कारण कार्यकारी अधिकृत बिदामा बसेका कारण शिक्षक, कामदार लगायत महानगरका कर्मचारीहरूको तलब समेत रोकिएको छ ।

महानगरले प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई दबाब दिइरहँदा मन्त्रालयले भने काम गर्ने वातावरण भएमा वर्तमान प्रशासकीय अधिकृत सरोज गुरागाईं नै काम गर्न तयार रहेको जनाएको छ ।

काठमाडौं महानगरपालिकाको वेबसाइटमा प्रमुख प्रशासकीय अधिकृतमा सरोज गुरागाईंको नाम उल्लेख छ । गत कात्तिकमा महानगरमा नियुक्त हुनुभएका उहाँ विवादका कारण महानगर नगएको साढे २ महिना भयो । प्रशासकीय अधिकृतको अनुपस्थितिमा राजश्व संकलन त रोकिएको छैन, अन्य आर्थिक क्रियाकलाप भने ठप्प भएका छन् । कामदार, शिक्षक, महानगरका कर्मचारी र जनप्रतिनिधिले तलब पाएका छैनन् । सरकारसँग प्रमुख प्रशासकीय अधिकृत माग गरे पनि नपाएको महानगरको भनाइ छ ।

“राजश्व विभागले आर्थिक संकलन गर्न चाहिँ पाइरहेको छ । तर तिर्नुपर्ने जुन दायित्व छ, त्यो तिर्न सकिरहेका छैनन् । दैनिक रूपमा प्रशासकीय रूपमा काम गर्ने श्रमजीवीहरूले अहिले तलब पाइरहेको अवस्था छैन, अनि स्कुलका टिचरहरूले पनि पाइरहेको अवस्था छैन र महानगरका सिंगो कर्मचारीले पनि पाइरहेको छैन भने जनप्रतिनिधिले समेत नपाइरहेको अवस्था छ । महानगरपालिकामा प्रमुख प्रशासकीयविहीन हुँदा अहिले संकटग्रस्त नै छ”, काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताउनुभयो ।

२०७९ वैशाखयता काठमाडौं महानगरमा चार प्रमुख प्रशासकीय अधिकृत गइसकेका छन्- लेखनाथ पौडेल, वसन्त अधिकारी, प्रदीप परियार र सरोज गुरागाईं । अब पनि महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गर्न संघीय मामिला मन्त्रालयलाई दबाब दिँदै आएको छ । तर, अहिले प्रमुख प्रशासकीय अधिकृत रिक्त भएको अवस्था भने होइन । केही दिनभित्रै सरुवाको प्रकिया अघि बढाउने भए पनि काम गर्ने वातावरण भएमा सरोज गुरागाईं नै काम गर्न तयार रहेको मन्त्रालयको भनाइ छ ।

“सरोज गुरागाईं सहसचिवज्यू अहिले प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ । उहाँसँग हामीले कुरा गर्दा काम गर्ने वातावरण भएमा त्यहीँ पनि काम गर्न तयार भएको उहाँले बेला बेला मन्त्रालयमा रिपोर्टिङ गरिराख्नु भएको छ । अब त्यहाँ प्रमुख प्रशासकीय अधिकृतज्यू नभएको पनि हैन । अब जो प्रमुख प्रशासकीय अधिकृत खटेर जान्छ उसलाई काम गर्ने वातावरण महानगरपालिकाले पनि दिनुपर्छ र जो खटिएर जानुहुन्छ उहाँहरूले पनि अब त्यहाँको कार्यपालिका, मेयर, उपमेयरसँग समन्वय गरेर काम गर्नुपर्ने हुन्छ”, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालिप्रसाद पराजुलीले बताउनुभयो ।

महानगरमा खटिएर जाने अधिकृतलाई काम गर्ने वातावरण दिनुपर्ने संघीय मामिला मन्त्रालयको तर्क छ । तर, यसका साथै, सरकारले खटाएका कर्मचारीले पनि सम्बन्धित कार्यपालिका, प्रमुख तथा पदाधिकारीसँग समन्वय गरेर काम गर्नुपर्छ भन्ने पनि बिर्सनु हुँदैन ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement