ताप्लेजुङ घटनामा सरकारले मानवअधिकार उल्लंघन गरेको आरोप, गृहमन्त्रीको राजीनामा माग

फाल्गुन ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
ताप्लेजुङ घटनामा सरकारले मानवअधिकार उल्लंघन गरेको आरोप, गृहमन्त्रीको राजीनामा माग

मोरङ । कोशी प्रदेश सभाको आइतबारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले ताप्लेजुङमा भएको घटनामा सरकारले मानवअधिकार उल्लंघन गरेको आरोप लगाएका छन् ।

शून्य समय र विशेष समयमा बोल्दै प्रदेश सभा सदस्यहरूले पाथीभरा क्षेत्रमा देखिएको समस्या समाधान गर्न मन्त्रीस्तरीय वार्ता समिति गठन गर्न समेत माग गरेका छन् । यस्तै ताप्लेजुङ घटनामा घाइते भएकाहरूको नि:शुल्क उपचारको व्यवस्था गर्न पनि उनीहरूले सरकारसँग माग गरेका छन् ।

प्रदेश सभा सदस्यहरू विद्या चाम्लिङ राई, खिनु लङ्वा लिम्बू, प्रदीप सुनवार, प्रेमराज थामसुहाङ, गोविन्द गिरी लगायतले निषेधाज्ञा जारी गरेर समस्याको समाधान नहुने बताउँदै वार्ता र संवादबाट समस्याको समाधान गर्न माग गरेका छन् ।

सरकार नागरिकप्रति जिम्मेवार नरहेको आरोप लगाउँदै प्रदेश सभा सदस्यहरूले ताप्लेजुङको घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्ने पनि माग गरेका छन् ।

‘नो केबलकार समूह’ र प्रहरीबीच ताप्लेजुङ सदरमुकाम फुङलिङमा हिजो शनिबार साँझ झडप भएको थियो । झडपका क्रममा प्रदर्शनकारी र प्रहरी दुवैतर्फ केही घाइते समेत भएका थिए ।

पछिल्लो समय ताप्लेजुङमा केबलकार विरोधी समूह र सुरक्षा निकायबीच झडप भइरहेको छ । गत माघ १२ गते पनि केबलकार विरोधी समूह र प्रहरीबीच झडप हुँदा गोली चलेको थियो र दुई जना प्रदर्शनकारी घाइते भएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement