काठमाडौं । २०७९ को संघीय निर्वाचनमा गठबन्धन गर्दा पनि ३२ सिटमा खुम्चिएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाले त्यसलाई नै म्याजिक नम्बर भन्दै करिब दुई वर्ष सत्ताको नेतृत्व गर्नुभयो । कहिले बालकोटको बार्दली त कहिले बूढानीलकण्ठको आँगनमा पुगेर उहाँले सत्ता टिकाउनुभयो । तर नेपाली कांग्रेस र एमालेबीचको सहयात्राले 'म्याजिक नम्बर' ले सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्र एकाएक केन्द्रदेखि प्रदेशसम्म प्रतिपक्षी बेन्चमा पुग्यो ।
प्रतिपक्षी बनेसँगै माओवादी अध्यक्ष दाहाल संगठन विस्तारका लागि पार्टीका काममा सक्रिय हुनुभएको छ ।
सत्ता बाहिर पुगेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल जिल्लाजिल्ला पुगिरहनुभएको छ । सत्तामा हुँदा संगठन भुल्ने, विपक्षमा पुग्ने बित्तिकै जनताकोमा फर्किएको घोषणा गर्ने प्रवृत्ति नेपाली राजनीतिमा नयाँ होइन । तत्काल सत्तामा पुनरागमन नहुने स्थिति बनेपछि दाहाल मात्र होइन, उहाँको पार्टी, संगठन निर्माणका लागि जनतामा फर्किएको भनिरहेको छ ।
माओवादी केन्द्रले फागुन १२ गतेदेखि एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापाको कचनकवलबाट 'जनतासँग माओवादी' तराई-मधेश जागरण अभियान सञ्चालन गर्दैछ । अभियानको क्रममा अध्यक्ष दाहाल र पदाधिकारी सहितको केन्द्रीय टोली सबै कार्यक्रममा सहभागी हुनेछन् । यो अभियान हुलाकी मार्ग केन्द्रित २० जिल्लामा स्थानीय नेता, कार्यकर्ता तथा जनसम्पर्क, भेटघाट, जनअन्तरक्रिया तथा सभाको आयोजना गर्नेछ । अभियान चैत २ गते सुदूरपश्चिमको कञ्चनपुर पुगेर समापन हुनेछ ।
बारम्बारको सत्ता यात्राले २०७९ को निर्वाचनसम्म आइपुग्दा माओवादी ३२ सिटमा खुम्चिएको छ । जनताबाट टाढिँदै सत्ता स्वार्थमा चुर्लुम्म डुबेको आरोप माओवादीमाथि लागेको छ । पार्टी नेतृत्वले शहीद परिवार, अपाङ्गता तथा घाइते परिवारलाई बेवास्ता गरेको, जनयुद्धकालीन अजेन्डा बिर्सिएर सत्ता स्वार्थका लागि कांग्रेस, एमालेसँगको सहकार्यले माओवादीको जनाधार घट्दै गएको टिप्पणी पार्टीभित्रै छ ।
त्यसकारण अभियानको अवधिमा अन्य पार्टीका नेता तथा कार्यकर्ता र सामाजिक व्यक्तिहरूलाई पार्टी प्रवेश गराउने लक्ष्य माओवादीको छ । २०६४ मा माओवादीलाई मतदान गर्ने जनतासँग र शहीद परिवारसँग भेटघाट, स्वागत र पुनःमिलन गराउने कार्यतालिका छ ।
सुशासन, सामाजिक न्यायका क्षेत्रमा सरकारमा हुँदा काम गरेको भाष्य स्थापित गर्ने र आफू जनताबाट टाढा नभएको सन्देश दिन माओवादीले खोजेको छ ।
यसैगरी प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले पूर्वपश्चिम मध्यपहाडी राजमार्ग, हिमाल, मधेश जागरण अभियान, युवा विद्यार्थीसँग माओवादी अभियान ६ महिनासम्म सञ्चालन गर्दैछ । मंसीर १६ गते सम्पन्न स्थानीय तह उपनिर्वाचनले समेत माओवादी हौसिएको छ । सत्ताबाट हटेको ७ महिनाको बीचमा लगभग देशका सबै भागमा पुगेका अध्यक्ष दाहाल माओवादीप्रति जनताको आकर्षण बढेको भन्दै उत्साहित हुनुभएको छ ।