अमेरिकाबाट डिपोर्ट भई भुटान हुँदै झापा आएपछि पक्राउ परेका भुटानी नागरिकबारे अन्योलमा अध्यागमन

चैत्र १७, २०८१ |रमा दाहाल|गणेशमान मुखिया
अमेरिकाबाट डिपोर्ट भई भुटान हुँदै झापा आएपछि पक्राउ परेका भुटानी नागरिकबारे अन्योलमा अध्यागमन

झापा । अमेरिकाबाट डिपोर्ट भएका र झापाबाट पक्राउ परेका तीन जना भुटानी नागरिकबारे काँकडभिट्टास्थित अध्यागमन कार्यालय अन्योलमा छ ।

अमेरिकाबाट डिपोर्ट भएपछि भुटान पुगेका उनीहरु भुटानबाट पनि फिर्ता पठाइएपछि शरण खोज्दै झापाको शरणार्थी शिविर पुगेका थिए । त्यहीँ पक्राउ परेका उनीहरुलाई प्रहरीले काँकडभिट्टास्थित अध्यागमन कार्यालयमा बुझाएको हो ।

तेस्रो देश पुनर्वास कार्यक्रम अन्तर्गत अमेरिका पुगेका उनीहरूलाई केही दिनअघि अमेरिकी सरकारले डिपोर्ट गरी भुटान फिर्ता पठाएको थियो । तर, भुटान सरकारले पनि बस्न नदिएपछि नेपाल आइपुगेका ती भुटानी नागरिक झापाको बेलडाँगीस्थित शरणार्थी शिविरबाट पक्राउ परेका हुन् । 

दमक प्रहरीले पक्राउ गरी काँकडभिट्टास्थित अध्यागमन कार्यालयमा बुझाइएको थियो । उनीहरु अहिले इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा छन् । शनिवार अपरान्हदेखि हिरासतमा राखिएका उनीहरूलाई के गर्ने भन्नेबारे अहिलेसम्म सरकारले कुनै निर्णय नगरेको अध्यागमन कार्यालय झापाका प्रमुख तुलसी भट्टराईले जनाउनु भयो । 

प्रहरी हिरासतमा रहेका भुटानीहरूलाई कसैसँग भेट्न दिइएको छैन । उनीहरूको अवस्था बुझ्न आज दिनभर कान्तिपुर टेलिभिजनले प्रयास गरे पनि माथिबाट आदेश नआएको भन्दै दृश्य छाँयाकन गर्न समेत दिइएन ।


Image

रमा दाहाल

दाहाल कान्तिपुर टेलिभिजनकी झापा संवाददाता हुन् ।

Image

गणेशमान मुखिया

मुखिया कान्तिपुर टेलिभिजनका झापा संवाददाता हुन् ।