राष्ट्रियसभाको बैठक पनि बस्दै नबसी स्थगित

चैत्र १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रियसभाको बैठक पनि बस्दै नबसी स्थगित

काठमाडौं । राष्ट्रियसभाको आजको बैठक पनि बस्दै नबसी स्थगित भएको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनुको कारणबारे प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलले चैत १३ गतेदेखि नै संसद अवरोध गरिरहेका छन् । विपक्षीको अडानले आजको राष्ट्रियसभाको बैठक बस्दै नबसी स्थगित भएको हो । कार्यसूची अनुसार सवा ११ बजे बस्ने भनिएको बैठक विपक्षीदलसँग सहमति जुट्न नसकेपछि सवा १ मा बस्ने गरी २ घण्टा सारिएको थियो । 

 तर, निर्धारित समयमा पनि बैठक बस्न सकेन र साढे ३ बजेलाई सारियो । यसबीचमा दलहरुसँग सहमतिका प्रयास भए पनि विपक्षी दल अडानबाट पछि हटेनन् । सदन खुलाउने विषयमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र सभामुख देवराज घिमिरेबीच पनि छलफल भएको थियो । सदन खुलाउन भएका आजका सबै प्रयास असफल भएपछि सूचना टाँसेर भोलिसम्मका लागि बैठक स्थगित गरिएको छ । 

राष्ट्रियसभाको आजको बैठकमा अध्यादेश प्रतिस्थापन विधेयक पारित गर्ने कार्यसूची थियो । अध्यादेश प्रतिस्थापन विधेयक ६० दिनभित्र पारित गरी प्रमाणीकरण भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रतिस्थापन विधेयकका रूपमा प्रतिनिधिसभामा पेस भएको भोलि ६० दिन पुग्दैछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.