सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित

चैत्र १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित

कैलाली । प्रतिपक्षीको अवरोधका कारण सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । आर्थिक लेनदेन सम्बन्धी अडिओ सार्वजनिक भएपछि राजीनामा दिएका वनमन्त्री लक्ष्मणकिशोर चौधरीमाथि छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग गर्दै प्रतिपक्षी माओवादी, समाजवादी र राप्रपाका प्रदेश सभा सदस्यले अवरुद्ध गरेका हुन् ।

प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल सहितका सांसदले भारतको उत्तराखण्ड पुगेर त्यहाँका मुख्यमन्त्रीसँग छलफल गरेर फर्किएको विषयमा समेत प्रतिपक्षी सांसदले सरकारको धारणा माग गरे । प्रदेश सभा सदस्यले परराष्ट्र मन्त्रालयबाट वैदेशिक भ्रमणका लागि अनुमति लिए नलिएको सदनमा जवाफ दिनुपर्ने प्रतिपक्षी दलको माग छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले भने प्रतिपक्षी दलहरूले निरन्तर अवरोध गरेर संसद्लाई बन्धक बनाउन खाजेको आरोप लगाउनुभएको छ । प्रदेश सभामा उठाइएका सवालहरूको जवाफ दिन खोज्दा पनि प्रतिपक्षीले नदिएको उहाँको भनाइ छ ।

मुख्यमन्त्री शाहले प्रतीपक्षीसँग छलफल गरेर छिट्टै सदन सुरु गर्ने पनि बताउनुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.