महँगीको तुलनामा बढेन तलब र ज्याला, आर्थिक शिथिलताको मार श्रमिकलाई

चैत्र १७, २०८१ |सुदिल पोखरेल
महँगीको तुलनामा बढेन तलब र ज्याला, आर्थिक शिथिलताको मार श्रमिकलाई

काठमाडौं । सरकारले अर्थतन्त्रमा सुधार आएको दाबी गरिरहँदा न नयाँ रोजगारी सिर्जनामा सुधार देखिन्छ न त श्रमिकको आम्दानी नै बढेको छ । बितेको ६ महिनाको तथ्यांकअनुसार महँगी झण्डै साढे ५ प्रतिशतले बढेको छ भने श्रमिक तथा कर्मचारीले पाउने ज्याला र तलबमा भने ३ प्रतिशत पनि बढेको छैन । चालु आर्थिक वर्षको ६ महिनामा मजदुर तथा कर्मचारीको ज्याला तथा तलबभन्दा महँगी बढी भएको देखिएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पुससम्ममा कर्मचारीको ज्याला तथा तलब गत वर्षको तुलनामा २ दशमलव ८ प्रतिशतले बढेको छ । गत वर्षको पुससम्म भने यस्तो ज्याला तथा तलब ५ दशमलव ५-६ प्रतिशतले वृद्धि भएको थियो । राष्ट्र बैंकको यो तथ्यांकले नयाँ रोजगारी सिर्जना नभएको र कर्मचारी तथा मजदुरको आम्दानी नबढेको देखाएको हो । नयाँ रोजगारी सिर्जना भएसँगै त्यसले कर्मचारीको माग बढाउँदा प्रतिस्पर्धाले तलब तथा ज्याला पनि बढ्छ । यसपटक चार वर्षयताकै कमदरमा तलब तथा ज्याला बढेको नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले जनाउनु भयो ।

विगतका वर्षहरुमा महँगीको तुलनामै मजदुर तथा कर्मचारीको तलब तथा ज्याला बढ्ने गरेको थियो । तर, यो वर्ष भने महँगीको तुलनामा ज्याला वृद्धि न्यून भएको हो । आर्थिक वर्ष २०७९/८० मा महँगी ७ दशमलव २-६ प्रतिशतले बढ्दा तलब तथा ज्याला वृद्धि १० दशमलव २-७ प्रतिशत पुगेको थियो । 

तर, यो पटक महँगी ५ दशमलव ४-१ प्रतिशतले बढेकामा तलब तथा ज्याला २ दशमलव ८-५ प्रतिशतमा सीमित छ । सरकारले लक्ष्य लिएअनुसार महँगी सीमाभित्रै रहे पनि आर्थिक शिथिलता चिर्न नसक्दा ज्याला तथा आम्दानी बढ्न नसकेको नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाको भनाइ छ ।

महँगीअनुसार ज्याला तथा आम्दानी नबढ्दा कर्मचारी तथा मजदुरलाई दैनिकी चलाउनै धौ-धौ हुने अवस्था आएको छ । यसले बजारलाई थप चलायमान बनाउनसमेत बाधा मात्र पुगेको छैन, रोजगारीका अवसरसमेत खुम्चिएको पुष्टि हुन्छ ।


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।