काठमाडौं । मुलुकमा हिंसात्मक अराजकता सिर्जना हुँदा लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकको जीउधन सुरक्षाको प्रत्याभूतिका लागि गम्भीर हुनुपर्ने विधायिकी थलो संघीय संसद राजनीतिक दाउपेच र स्वार्थमा रुमल्लिएको छ । सत्ता पक्ष र विपक्षी दलहरुको आआफ्नै अडानका कारण आज पनि संसद बैठक चल्नै सकेन । संसद बस्नै नसके पनि सांसदहरु दलीय कित्ता अनुसार आरोप प्रत्यारोपमा भने उत्रिए । प्रमुख प्रतिपक्षीसहितका विपक्षी दलको अवरोधका कारण चल्न नसकेको संसद बैठक भोलि बस्ने गरी बोलाइएको छ ।
संघीय संसदको बैठक चैत १३ गतेदेखि अवरुद्द छ । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएको विषयमा प्रधानमन्त्रीसँग चित्तबुझ्दो जवाफ मागेका विपक्षीले अडान छाडेनन् । सदन खुलाउने विषयमा गम्भीर नदेखिएका दलहरु आरोपप्रत्यारोपमा केन्द्रित देखिए ।
सभामुखले आज बैठक सुरु गर्न खोज्नेबित्तिको विरोध गरेका माओवादी केन्द्रसहितका विपक्षी दलका सांसदहरु प्रधानमन्त्रीको जवाफभन्दा बाहिर टसमस भएनन् ।
त्यसमा आपत्ति जनाउँदै सत्तापक्षले सदनभित्रै होहल्ला गर्यो । सत्तारुढ दलका सांसदले काठमाडौंको तिनकुने क्षेत्रमा १५ गते विध्वंश मच्चाउने राजावादीहरु भन्दै कडा कारबाहीसहित सदन चल्नुपर्ने माग गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले कारबाही गरेर देखाउन धम्की दिएका थिए ।
१५ गते राजवादीहरुले आन्दोलनका नाममा गरेको अराजकता र उत्पन्न परिस्थितिका विषयमा सदनमा कुरा राख्नुपर्ने बेला सदन चल्न नदिएर विपक्षी दलहरु गणतन्त्र विरोधीको सारथी बनेको आरोप सत्ता पक्षले लगाएको छ ।
विपक्षीको मागमा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसद बैठकमा जवाफ दिने तय भइसकेको छ। तर, त्यसअघि संसद खोल्न भने विपक्षी पटक्कै तयार भएनन् ।
राजनीतिक दलहरु गम्भीर नभएकै कारण जनमानसमा असन्तुष्टि बढिरहेको समयमा समेत दलहरु आफ्नो दाउपेचबाट टसकामस हुन सकेनन् । यहीबेला लोकतन्त्र र पद्दतीविरुद्द कतिपयले आन्दोलनका नाममा अराजकतासहित आक्रमण गर्दा पनि गणतन्त्रका हिमायती दलहरुले भने संसदलाई बन्धक बनाएर आपसी स्वार्थमै दन्तबझान गरेका छन् ।