काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चैत १५ गते राजावादीको आन्दोलनका नाममा भएको आपराधिक घटनाको योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह हुन् भन्ने देखिएको बताउनु भएको छ । १५ गते राजावादी आन्दोलनका क्रममा उच्छ्रिङ्खल समूहले कान्तिपुर टेलिभिजनमाथि गरेको भौतिक आक्रमणबारे बुझ्न कान्तिपुर टेलिभिजनको समाचार कक्षमा आउनु भएका महासचिव पोखरेलले पूर्वराजा ज्ञानेन्द्र छानबिनको दायरामा आउनुपर्ने उल्लेख गर्नु भयो ।
उहाँले भन्नुभयो, 'घटनाक्रमले देखाउँछ कि, निर्मल निवासबाटै अन्तिम समयमा जनकमाण्डरका रुपमा दुर्गा प्रसाईंलाई अघि सारिनुलाई यो अपराधका लागि योजनाबद्ध तयारीका रुपमा बुझ्न सकिन्छ ।' उहाँले दुर्गा प्रसाईंलाई प्रहरीले चाँडै पक्राउ गर्नेमा आशावादी रहेको बताउनु भयो ।
महासचिव पोखरेलले मिडियामाथि नियोजित रुपमा भएको आक्रमण लोकतन्त्रमाथिकै आक्रमण भएको भन्दै नेकपा एमाले प्रेस र अभिव्यक्ति स्वतन्त्रताका पक्षमा सदैव साथमा रहेको प्रतिबद्धता जनाउनु भयो । उहाँले भन्नुभयो, 'मिडियामाथिको आक्रमण लोकतन्त्रको आधारमाथिको आक्रमण हो ।'
उहाँले लोकतान्त्रिक व्यवस्थामाथि भइरहेको आक्रमणलाई निस्तेज पार्न लोकतान्त्रि शक्तिहरु एक ठाउँमा उभिनुपर्नेमा जोड दिनु भयो । यसैगरी, सरकारले पनि संवेदनशील क्षेत्रको सुरक्षा जिम्मा लिनुपर्ने महासिचव पोखरेलको भनाइ थियो ।
कान्तिपुर टेलिभिजनमा भएको आक्रमणबारे जानकारी लिन एमाले महासिचव पोखरेलसहित एमालेका संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकाल, बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराई, केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारी लगायतका नेताहरु सहभागिता हुनुहुन्थ्यो ।