काठमाडौं । म्यानमारमा शुक्रबार गएको ७ दशमलव ७ म्याग्निच्युडको विनाशकारी भूकम्पमा परेर घाइते भएकाहरुको उपचार गर्न चिकित्सकीय सामग्रीको अभाव भएको छ । संयुक्त राष्ट्र संघले चिकित्सकीय सामग्रीको चरम अभावले घाइतेको उपचार गर्न अवरोध भएको जनाएको हो ।
भूकम्पबाट म्यानमारमा अहिलेसम्म १ हजार ७ सयको मृत्यु भएको र ३ सय जना बेपत्ता रहेको म्यानमारका सेना प्रमुखले जनाएका छन् । यस्तै, भूकम्पबाट कम्तिमा ३ हजार ४ सय मानिस घाइते भएका छन् । बेपत्ताको खोजी जारी छ ।
म्यानमारमा भूकम्पले सबैभन्दा बढी क्षति देशकै दोस्रो ठूलो सहर म्यान्डलेमा पुगेको छ । राजधानी नेपितमा भूकम्पले ध्वस्त एउटा भवनको भग्नावशेषमा फसेकी एक महिलालाई ३६ घण्टापछि जिवितै उद्धार गरिएको छ ।
उद्धार र राहतका लागि छिमेकी देशहरु चीन, भारत र थाइल्याण्डले राहत सामग्री र उद्धारकर्ताहरुको टोली आज म्यानमार पठाएका छन् । अन्य अन्तर्राष्ट्रिय सहयोग पनि आउन शुरु भएको समाचारमा जनाइएको छ । आज दिउँसो पनि म्यान्डले नजिकै ५ दशमलव १ म्याग्निच्युडको पराकम्प गएको छ । अमेरिकी जियोलोजिकल सर्भेले म्यानमारमा मृतकको संख्या १० हजारसम्म पुग्न सक्ने पूर्वानुमान गरेको रोयटर्सले जनाएको छ ।
भूकम्पले म्यानमारका विमानस्थल, राजमार्ग पुललगायतका महत्वपूर्ण भौतिक संरचनामा क्षति पुर्याएको र यसले राहत तथा उद्धार कार्यमा कठिनाइ भइरहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
भूकम्पले छिमेकी थाइल्याण्डमा समेत ठुलो क्षति पुर्याएको छ । राजधानी बैंककमा हालसम्म १७ जनाको मृत्यु भएको र कम्तिमा ८३ जना क्षतिग्रस्त भवनको भग्नावशेषमा फसेको सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।
सन् २०२१ को सैन्य कू यता गृहयुद्धमा फसेको म्यानमारमा गएको यो विनाशकारी भूकम्पले जनजीवन थप अस्तव्यस्त बनाइदिएको छ ।