काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले कसैले परिकल्पना गरेको कुरा लागू गर्न संविधान संशोधन गर्नेकुरा स्वीकार्य नहुने बताउनुभएको छ ।
ललितपुरमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधान निर्माण गरिरहँदा प्रत्येक १० वर्षमा यसको पुनरावलोकन गर्ने विषय समेटिएको तर संविधान नै पूर्ण कार्यान्वयन हुन नसकेको उल्लेख गर्नुभयो ।
उहाँले इमान्दारिताका साथ संविधान संशोधन गर्न खोजेको भए रास्वपाको साथ रहने बताउनु भयो । उहाँले राजनीतिक संस्कार स्थायी हुन जरुरी रहेको बताउनु भयो । उहाँले दुई तिहाई बहुमत ल्याउन निर्वाचनले कुनैपनि राजनीतिक दललाई नरोकेको बताउनु भयो ।
‘मलाई विश्वास त छैन, सात बुँदामध्ये २ नम्बर बुँदामा संविधान संशोधन राखेर नेकपा एमाले र नेपाली काँग्रेसको गठबन्धन बन्यो । इमान्दारिताका साथ गर्न खोजेको हो भने हामीले त्यसलाई स्वीकार गरेका छौँ,’ उहाँले भन्नुभयो ।
प्रमुख सचेतक परियारले संविधान संशोधन गर्नुपर्ने तर त्यस भन्दा पहिला व्यक्ति र राजनीतिक दलको प्रवृत्ति र चरित्र बदल्नुपर्ने जरुरी रहेको बताउनु भयो ।