बाँके । बाँकेको जयन्दु बालसुधार गृहमा दुई समूहबीच झडप हुँदा ६ जना घाइते भएका छन् ।
होली मनाउने विषयलाई लिएर दुई पक्षबीच दिउँसो विवाद भएको र राति अर्को पक्षले सुतेका बेला एक्कासी खुकुरीले आक्रमण गरेको सुधारगृह प्रशासनले जनाएको छ ।
घाइतेहरूको भेरी अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूमध्ये धेरैको टाउकोमा चोट लागेको अस्पतालले जनाएको छ । भेरीमा टाउकोको सिटीस्क्यान गर्ने सुविधा नभएकाले नेपालञ्ज मेडिकल कलेजमा लगेर घाइतेहरूको सिटिस्क्यान भइरहेको छ ।
अहिले जयन्दु बाल सुधार बालसुधार गृहमा सुरक्षाकर्मी थपिएको बाँके प्रहरीले जनाएको छ । सुधारगृहका कर्मचारीहरूले कार्यालय प्रवेश गर्न नसक्ने अवस्था भएकाले बाहिरै बसेर काम गर्नुपरेको जनकारी दिएका छन् ।
यसैबीच बालसुधार गृहमा रहेका बालकका अभिभावक तथा आफन्तहरूले आफ्ना सन्तान असुरक्षित भएको भन्दै प्रशासनसँग सुरक्षा माग गरेका छन् । यसअघि बाँकेको नौबस्तामा रहेको बालसुधार गृहमा पनि दुई समूहबीच झडप भएको थियो ।
सुधारगृहभित्र निगरानी नहुँदा लागूऔषधको कारोबार तथा सेवन हुने गरेको भनेर आलोचना हुने गरेको छ ।