काठमाडौं । नेकपा एमालेका सांसद वासुदेव घिमिरेले स्थानीय तहको पुनःसंरचना आवश्यक भएको बताउनुभएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उहाँले नेपालको संघीय संरचनालाई थप प्रभावकारी र आर्थिक रूपमा व्यावहारिक बनाउन स्थानीय तहको पुनःसंरचना आवश्यक रहेको बताउनुभएको हो ।
उहाँले हालको अवस्थामा कुल ७५३ स्थानीय तहहरू रहेको भन्दै यसले राज्यलाई ठूलो आर्थिक भार परेको बताउनुभयो । आगामी निर्वाचनसम्म कुल ५०१ स्थानीय तहको प्रस्ताव कार्यान्वयन गर्नसके वार्षिक झन्डै ३० अर्बसम्मको व्ययभार कटौती गर्न सकिने बताउनुभयो । प्रस्तावित संरचना अनुसार महानगरपालिकाको संख्या १०, उपमहानगरपालिकाको १५, नगरपालिका २२५, गाउँपालिका २५१ गरी ५०१ वटाको संरचना निर्माण गर्न जरुरी रहेको उहाँले बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “नेपालको संघीय संरचनालाई थप प्रभावकारी र आर्थिक रूपमा व्यावहारिक बनाउन स्थानीय तहको पुनःसंरचना आवश्यक देखिन्छ । हालको अवस्थामा कुल ७५३ स्थानीय तहहरू छन् । जसले राज्यलाई ठूलो आर्थिक भार पारेको छ । आगामी निर्वाचनसम्म कुल ५०१ स्थानीय तहको प्रस्ताव कार्यान्वयन गर्न सके वार्षिक झन्डै ३० अर्बसम्मको व्ययभार कटौती गर्न सकिन्छ ।”
उहाँले हालको संघीय संरचनाभित्रै रहेर यो परिवर्तन सम्भव रहेको पनि बताउनुभयो ।