सामाजिक सञ्जाल भनेको संसद् बाहिरको संसद् हो : महामन्त्री शर्मा

माघ २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
सामाजिक सञ्जाल भनेको संसद् बाहिरको संसद् हो : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल सम्बन्धी विधेयक आवश्यक संवाद र परिमार्जन गरेर मात्रै संसद्बाट पारित गर्ने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकार र सामाजिक सञ्जाल दुवैको शैली बदल्न जरुरी रहेको बताउनु भयो । उहाँले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि यसको प्रयोग गरिरहँदा राख्नुपर्ने मर्यादको सन्दर्भमा गम्भीर बहसमार्फत परिमार्जन गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । 

उहाँले सामाजिक सञ्जाल भनेको संसद् बाहिरको संसद भएको बताउनु भयो । ‘सामाजिक सञ्जाल भनेको संसद बाहिरको संसद् हो । यो संसद्ले सही ढंगले फिडब्याक दिने कर्म गर्यो‍ भने, यो बाहिर रहेको संसद्मा सही प्रश्नमा सही ढंगले खबरदारी गर्यो‍ भने भित्र रहेको संसदले आफूलाई अझ बढी जिम्मेवार बनाउन, देश जनताको मुद्दाप्रति अझै गम्भीर बन्न, आफूलाई परिमार्जित गर्नका लागि सजिलो हुन्छ,’ उहाँले भन्नुभयो । 

महामन्त्री शर्माले शासन प्रणाली बदलिएको भएपनि शासनको शैली अझै बदल्न नसकेको बतउनु भयो । उहाँले विधेयकमाथि सरोकारवालाहरुसँग छलफल र बहस गरेर मात्रै ल्याउनुपर्नेमा सरकारमै रहेको नेपाली काँग्रेससँग पनि पर्याप्त छलफल नभएको बताउनु भयो ।

साथै उहाँले प्रतिनिधि चुनिएका व्यक्तिहरूले नै लोकतन्त्रलाई हनन गरेको उदाहरण कतिपय ठाउँमा रहेको भन्दै यसमा गम्भीर बन्नुपर्ने बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement