विश्वकपको १६औँ खेलमा बेल्जियम र इजिप्टबीच प्रतिष्ठाको संघर्ष

असार १, २०८३ |अभय बस्नेत
विश्वकपको १६औँ खेलमा बेल्जियम र इजिप्टबीच प्रतिष्ठाको संघर्ष

काठमाडौं । विश्वकपको १६औँ खेलमा साेमबार बेल्जियम र इजिप्ट आमनेसामने हुँदै छन् । 

अन पेपर बेल्जियम बलियो देखिन्छ भने अन रेकर्ड इजिप्टको इतिहास बलियो छ । बेल्जियम आफ्नो गोल्डेन जेनेरेसनको अन्तिम चक्रका खेलाडीसहित विश्वकपको ट्रफीमा नजर लगाइरहेको छ । उता इजिप्ट आफ्नो पहिलो जितको खोजीमा । 

कस्तो होला त यो भिडन्त ? अनि दुवै टिमको रणनीति र फर्मेसन के होला ?

सन् २०१८ देखि २०२१ ताका बेल्जियमको फुटबल टोली प्रायः फिफा वरीयतामा शीर्ष स्थानतिरै रहन्थ्यो । यो गोल्डेन जेनेरेसनका प्रायः खेलाडीले आफ्नो व्यावसायिक करिअरमा कैयौँ उपाधि र उपलब्धि हात पारेका छन् । तर, यी सबै एकै ठाउँमा आउने थलो, राष्ट्रिय टोलीको ट्रफी क्याबिनेट भने आजपर्यन्त रित्तो छ ।

यही रिक्तता भर्न बेल्जियमको टोलीले साेमबार मध्यराति १२ : ४५ मा इजिप्टसँग प्रतिस्पर्धा गर्दै विश्वकप यात्रा थाल्नेछ । फिफा वरीयताको नवौँ स्थानमा रहेको बेल्जियममा यसपटक गोल्डेन जेनेरेसनको अन्तिम चक्रका केही खेलाडी मात्र बाँकी छन्- केभिन डी ब्रुएना, रोमेलु लुकाकु अनि थिबाउ कोर्टुवा । र, बाँकी छ, सन् २०२२ को कतार विश्वकपमा समूह चरणबाटै बाहिरिएको पीडा ।

हाल बेल्जियम १३ खेलको अपराजित यात्रामा छ, जसमा ट्युनिसियालाई ५-० र क्रोएसियालाई २-० ले हराएका पछिल्ला नतिजा सामेल छन् । प्रशिक्षक रुडी गार्सियाको टोलीमा डी ब्रुएना, कप्तान युरी टिलेमान्स र युवा स्टार जेरेमी मुख्य खम्बा हुन् ।

अब कुरा गरौँ ‘द फ्यारोज’ अर्थात् इजिप्टको । फिफा वरीयताको २९औँ स्थानमा रहेको इजिप्ट आफ्नो चौथो विश्वकपमा ऐतिहासिक सफलताको खोजीमा छ । प्रशिक्षक होसाम हसनको नेतृत्वमा रहेको इजिप्टले विश्वकप इतिहासमा अहिलेसम्म एउटा पनि खेल जित्न सकेको छैन । 

स्टार फरवार्ड मोहम्मद सलाहको सम्भवतः यो अन्तिम विश्वकप हुनसक्ने भएकाले उनी आफ्नो टोलीलाई पहिलो जित दिलाउन आतुर छन् । टोलीमा सलाहका साथै ओमर मार्मोस र गोलकिपर मोस्तफा शोबेर को प्रदर्शन निर्णायक हुने देखिन्छ ।

इजिप्टले छनोट चरणमा निकै उत्कृष्ट प्रदर्शन गर्दै १० खेलमा अपराजित रहँदै २० गोल गरेको थियो र मात्र २ गोल खाएको थियो । यी दुई टोलीबीचको विगतको भिडन्तमा पनि इजिप्ट नै बलियो देखिन्छ । अहिलेसम्म भएका ४ भेटमध्ये इजिप्टले ३ खेल जितेको छ भने बेल्जियमले मात्र १ । 

पछिल्लोपटक २०२२ मा भएको मैत्रीपूर्ण खेलमा इजिप्ट २-१ ले विजयी भएको थियो । तर, विश्वकप मा भने यी दुई टोली पहिलो पटक भिड्दैछन् । साेमबारको खेलमा बेल्जियमले ४-२-३-१ को आक्रामक फर्मेसन प्रयोग गर्ने सम्भावना छ, जहाँ डी ब्रुएनाले खेललाई नियन्त्रण गर्नेछन् । 

रोमेलु लुकाकु घाइते भएका कारण बेल्जियमले चार्ल्स डी केटेलेयरलाई 'फल्स नाइन'को रूपमा खेलाउन सक्छ । अर्कोतर्फ, इजिप्टले रक्षात्मक खेल खेल्दै सलाह र मार्मोसको गति प्रयोग गरेर काउन्टर-अट्याकमा गोल गर्ने रणनीति बनाउनसक्छ ।


Image

अभय बस्नेत

बस्नेत कान्तिपुर टेलिभिजनको स्पोर्ट्स ब्युरोमा कार्यरत छन् ।