सरकारलाई विस्थापितको अल्टिमेटम : जग्गाको स्वामित्वसहित पुनःस्थापना गर

असार १, २०८३ |कृपाल गौतम
सरकारलाई विस्थापितको अल्टिमेटम : जग्गाको स्वामित्वसहित पुनःस्थापना गर

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनाराका संरचनामा डोजर चलाएको डेढ महिना बितिसकेको छ । 

विस्थापितहरुलाई काठमाडौंका विभिन्न होल्डिङ सेन्टर तथा अपार्टमेन्टमा राखिएको छ । तर, आफूहरुको उचित व्यवस्थापन नगरिएको भन्दै विस्थापितहरुले सरकारलाई दबाब दिन थालेका छन् । कीर्तिपुरको राधास्वामी सत्संग केन्द्रमा राखिएकाहरुले एक साताभित्र स्थायी पुनस्थापना र जमिनको स्वामित्व माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएका छन्।

सोमबार कीर्तिपुरस्थित राधास्वामी सत्संग सेन्टरमा निकै चहलपहल थियो । केही समय अघिसम्म पनि छरिएर बस्नु परिरहेको होल्डिङ्ग सेन्टरमा टेन्ट हालिएर निकै व्यवस्थित गरिएको थियो, यसले विस्थापितको बसाइ केही सहज त बनाएको छ, तर यहाँ आश्रय लिइरहेकाहरु खुसी छैनन् । 

हामी मध्याह्न १२ बजेतिर होल्डिङ्ग सेन्टर पुग्दा विस्थापित परिवारहरु बिहानदेखि नै खाना खान नपाएको भन्दै आक्रोशित देखिन्थे । होल्डिङ सेन्टरमा पानीको समेत राम्रो व्यवस्था नभएको विस्थापितको गुनासो छ । रित्ता जार देखाउँदै उनीहरुले धाराको पानी उमालेर खानुपर्ने बाध्यता रहेको बताए ।

खानाको व्यवस्थासमेत नभएपछि आफूहरुले पैसा उठाएर चिउरा किनेर खानुपरेको गुनासो यहाँ आश्रय लिएकाहरुले गरिरहेका थिए । कतिले भने एउटा संस्थाले व्यवस्था गरेको दही चिउरा खाँदै थिए । खाना खुवाउन जिम्मा पाएको काठमाडौं महानगरपालिका क्याटरिङ सेवा परिवर्तन हुन लागेकाले खाना खुवाउन ढिलाइ भएको दाबी गर्दै थियो । तर, व्यवस्थापनको कमजोरीका कारण आफुहरुलाइ यसरी भौकै राख्नु न्यायोचित नभएको आश्रीतहरुको भनाइ छ ।

कीर्तिपुरको होल्डिङ सेन्टरमा थापाथली गैरीगाउ शान्तिनगर जडिबुटी लगायतका क्षेत्रका विस्थापित राखिएका छन् । यहाँ आएको २ महिना पुग्न लाग्दासमेत कहाँ राख्ने, के गर्ने भन्ने बारेमा आफुहरुलाई स्पष्ट रुपमा कसैले केही नभनेको उनीहरुको गुनासो छ ।

सरकारले यहाँ मात्र हैन इचंगुनारायण, भक्तपुर लगायतका स्थानमा विस्थापितहरुलाई राखेको छ । उनीहरुले एक साताभित्र स्थायी पुनःस्थापना र जमिनको स्वामित्व माग गर्दै सरकारलाई ११ बुँदे ज्ञापनपत्र समेत बुझाएका छन्। होल्डिङ सेन्टरमा आधारभूत स्वास्थ्य सेवा, औषधोपचार र पोषणयुक्त खानाको चरम अभाव रहेको, सेन्टरमा पर्याप्त सुरक्षा र गोपनीयता नहुँदा महिला तथा बालबालिकाहरू चरम असुरक्षाको जोखिममा परेको लगायतका विषय ज्ञापनपत्रमा उठाएका छन् । 

एक सातामा पनि आफुहरुलाई व्यवस्थापन नगरे पुरानै स्थानमा फर्कने उनीहरुको चेतावनी छ ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।