फिफा विश्वकप : तीन पटकको विश्वविजेता फ्रान्सले सेनेगलको सामना गर्दै

असार २, २०८३ |विनयज्योति सापकोटा
फिफा विश्वकप : तीन पटकको विश्वविजेता फ्रान्सले सेनेगलको सामना गर्दै

काठमाडौं । फिफा विश्वकपमा मंगलबार राति पौने १ बजे तीन पटकको विश्वविजेता फ्रान्सले सेनेगलको सामना गर्दै छ । 

अफ्रिकी महादेशको जुनसुकै प्रतियोगिताको दावेदार सेनेगल र फ्रान्सबीचको खेल हाई इन्टेनसिटी, रणनीतिक चतुर्यताले भरिएको र तीव्र गतिको हुने अनुमान गरिएको छ । समूह आईका दावेदारबीचको खेल समूहको बहुप्रतिक्षित खेलमध्येको एक हुनेछ ।

२४ वर्षअघि दक्षिण कोरियाको सियोलमा भएको विश्वकप उद्घाटन खेलमा सेनेगलले त्यतिबेलाको विश्व च्याम्पियन फ्रान्सलाई १-० ले हराएर विश्व फुटबललाई स्तब्ध बनाएको थियो । उक्त खेलको एकमात्र गोल सेनेगलका दिवंगत खेलाडी पापा बुबा डियोपले गरेका थिए ।

यता, समूह ‘आई’ को उद्घाटन खेलमा सेनेगलले मंगलबार राति फ्रान्सविरुद्ध त्यही ऐतिहासिक नतिजा दोहोर्‍याउने लक्ष्य राखेको छ । अमेरिकाको इस्ट रदरफोर्डमा हुने खेलमा सेनेगलले सन् २००२ को विश्वकपमा हासिल गरेको चर्चा र सपलतालाई पुनः एकपटक सम्झनामा ल्याउने प्रयास गर्नेछ । 

रमाइलो पक्ष के छ भने, अहिलेका सेनेगलका प्रशिक्षक थियाव स्वयं सन् २००२ मा फ्रान्सलाई हराउने टोलीका सदस्य थिए । यता, फ्रान्सले गत जुन ४ मा भएको मैत्रीपूर्ण खेलमा आइभरी कोस्टसँग २–१ को हार बेहोरेको थियो । के यो हारले केही संकेत गरेको गरेको छ ? होइन । 

किनभने त्यसको चार दिनपछि उत्तरी आयरल्यान्डमाथि ३-१ को जित निकालेर फ्रान्सले पुनरागमनको सन्देश दिइसकेको छ । उसले पछिल्ला १० मध्ये नौ खेलमा दुई वा सोभन्दा बढी गोल पनि गरेको छ । त्यति मात्रै नभइ प्रशिक्षक डिडिएर डेसच्याम्प नेतृत्वको फ्रान्स साविक उपविजेताको हैसियतसहित विश्वकपमा सहभागी छ । र, २०२२ को विश्वकप फाइनलमा भोगेको निराशालाई बिर्सँदै यस सिजन उपाधि जितेर डेसच्याम्प आफ्नो कार्यकाल सुखद् अन्त्य गर्ने लक्ष्यमा छन् । 

त्यसलाई सार्थकता दिन र टीम युनिटी बलियो बनाउने भन्दै उनले कामाभिङ्गा, इकिटिके र कोलो मुआनीजस्ता स्टार खेलाडीलाई बाहिर राखेका छन् । खेलाडी र प्रशिक्षक दुवै भूमिकामा विश्वकप जित्ने दुर्लभ कीर्तिमान बनाएका डेसच्याम्पले विश्वकपमा फ्रान्सलाई १४ खेलमा जित दिलाएका छन् । 

यदी समूह चरणमा उत्कृष्ट प्रदर्शन गरे उनले जर्मनीका पूर्वप्रशिक्षक हेल्मुट शोनको १६ जितको कीर्तिमानलाई चुनौती दिन सक्नेछन् । उता, सेनेगलले पनि अफ्रिका छनोटमा अपराजित रहँदै लगातार तेस्रो विश्वकपमा स्थान सुरक्षित गरेको थियो । 

रुस विश्वकपमा समूह चरणबाटै बिदा भएको सेनेगल कतार विश्वकपको अन्तिम १६ सम्म पुगेको थियो । तर, ऊ यसपटक केही नयाँ गर्ने सोच लिएर मैदानमा आउँदै छ । अफ्रिकी लायन्सले २०२१ को अफ्रिका कप अफ नेसन्सको उपाधि जितेका थिए । 

प्रशिक्षक पाप थियावको टोलीले विश्वकप तयारीका क्रममा पेरु र गाम्बियालाई हराएको थियो । तर, अन्तिम दुई मैत्रीपूर्ण खेलमा भने सह-आयोजक अमेरिकासँग ३-२ को हार तथा साउदी अरेबियासँग गोलरहित बराबरी खेलेको थियो ।

साउदी अरेबियाविरुद्ध गोल गर्न नसक्दा सेनेगलको लगातार १७ खेलसम्म गोलको शृंखला समाप्त भएको थियो । अहिले भने सातमध्ये पाँच खेलमा क्लिन सिट राख्दै डिफेन्स लाइनअप बलियो भएको प्रमाण दिएको छ । फ्रान्सका डिफेन्डर विलियम सालिबाको चोटको समस्या समाधान भएपछि समर्थकलाई केही ढुक्का भएको छ । 

जुल्स कुन्डे फिट छन् भने पहिलो रोजाइका गोलरक्षक माइक मैन्यानको अवस्था सामान्य रहेको छ । फ्रान्सको अट्याकको मुख्य जिम्मेवारी कप्तान किलियन एमबाप्पे र ओउसमान डेम्बेलेमाथि हुनेछ । च्याम्पियन्स लिग जितेका डेम्बेले र यो सिजन क्लबबाट केही नजितेका एम्बाप्पेको डुओ कस्तो होला रु त्यो भने हेर्न बाँकी छ । 

एम्बाप्पेले हालसम्म फ्रान्सका लागि ५६ गोल गर्दाको अनुभव, युवा जोशमाथि उनलाई मंगलबार कीर्तिमान बनाउने अवसर रहनेछ । उनी सर्वाधिक गोलकर्ताको कीर्तिमान बराबरी गर्न केवल एक गोल टाढा छन् । उता, सन् २०२२ को विश्वकप चोटका कारण गुमाएका सेनेगलका स्टार फरवार्ड साडियो माने यसपटक पूर्णरूपमा फिट छन् । 

उनी यो खेलको केन्द्रमा रहनेछन् । समर्थकले उनीबाट विङमा जोडदार प्रदर्शनको अपेक्षा गरेका छन् । सेनेगल टोलीमा असान डियाओ, शेरिफ एनडियाये र इद्रिसा गेये शारीरिक समस्याबाट गुज्रिए पनि अवस्था गम्भीर छैन । अग्रपंक्तिमा निकोलस ज्याक्सनले एनडियायेलाई पछि पार्दै सुरुवाती रोजाइ पाउने सम्भावना छ ।

विश्वकप इतिहासको एक चर्चित अध्याय दोहोरिने कि फ्रान्सले आफ्नो उपाधि अभियान विजयी सुरुवात गर्ने भन्ने चासोका साथ विश्व फुटबल समर्थकहरूको नजर मंगलबारको खेलमा केन्द्रित रहनेछ ।


Image

विनयज्योति सापकोटा

सापकोटा कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।