प्रधानमन्त्रीले लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्ने

माघ २५, २०८१ |अमर क्षितिज भण्डारी
प्रधानमन्त्रीले लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्ने

दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन गर्नुहुने भएको छ । फागुन ५ गते बस्ने प्रदेश सभाको बैठकमा विशेष सम्बोधनका लागि प्रधानमन्त्री ओलीलाई प्रदेश सरकारले निमन्त्रणा गरेको छ ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्य मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष सम्बोधनका लागि निमन्त्रणा गर्नुभएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम प्रदेशसभामा विशेष सम्बोधनका लागि निमन्त्रणा गरिएको हो । लुम्बिनी प्रदेश सरकारको बैठक बसेर यसको तयारी पनि थालेको छ ।

फागुन ५ गते नेकपा एमाले दाङले घोराहीमा आयोजना गर्न लागेको जनसभामा प्रधानमन्त्री ओली दाङ आउने भएपछि सोही मौका छोपेर प्रदेश सभाको बैठकलाई विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । प्रदेश सभाको सम्बोधनपछि प्रधानमन्त्री ओलीले घोराहीमा आयोजना हुने जनसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओली दाङ आउने भएपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकको पनि आयोजना गरिएको छ । प्रधानमन्त्री ओली फागुन ६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक सकेर काठमाडौं फर्कने कार्यक्रम तय भएको छ ।


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।


Enter Kantipur TV HD
Advertisement