काठमाडौं । प्रतिनिधि सभामा विपक्षी दलका सांसदहरूले अन्तरजातीय विवाहमा दलित समुदायप्रति भएको विभेदको संरक्षण गरेको भन्दै गृहमन्त्री र प्रहरी प्रमुखमाथि छानबिन गर्न माग गरेका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले सर्लाहीमा अन्तरजातीय विवाह गर्ने जोडीलाई गृहमन्त्रीकै निर्देशनमा यातना दिइएको भन्दै छानबिन र दोषीलाई कारबाही गर्न माग गर्नुभयो । सत्यन्द्र राम र नेहा रौनियारको सम्बन्धलाई सर्वोच्च अदालतले वैधता दिएको तर गृहमन्त्री र प्रहरी प्रमुखको निर्देशनमा उक्त दम्पतीलाई भारतबाट पक्राउ गरी ल्याएर यातना दिइएको सांसद ज्वालाको आरोप छ ।
सांसदहरूले दाङको स्वर्गद्वारी गुठी पीडितका माग सम्बोधनदेखि बीपी राजमार्ग तथा नख्खु करिडोर पुनःनिर्माणका लागि समयमै ध्यान दिन पनि सरकारलाई आग्रह गरे । स्वर्गद्वारी गुठी पीडित काठमाडौं आएर आन्दोलन गर्दा समेत सरकारले ध्यान नदिएको सांसदहरूको दाबी छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले सरकारले रवि लामिछानेमाथि प्रतिशोध साँधेको र संसद्ले पनि त्यसलाई स्वीकार गरेको भन्दै प्रश्न गरेका छन् ।
डिजिटल कारोबारलाई प्रोत्साहनका लागि कारोबार बापत तिर्नुपर्ने शुल्क हटाउन पनि सांसदहरूले माग गरेका थिए । प्रतिनिधि सभाको आजको बैठकमा कानुन समितिले पारित गरेको विधायन विधेयक सम्बन्धी प्रतिवेदनमा छलफल भएको छ । उद्योग समितिका सभापति अब्दुल खानले विद्युतीय व्यापार विधेयक सम्बन्धी समितिको प्रतिवेदन सभामा पेश गर्नुभएको छ ।