महाधिवेशन र निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण अभियानमा कांग्रेस

माघ २२, २०८१ |प्रकाश बम|भुपाल गुरुङ
महाधिवेशन र निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण अभियानमा कांग्रेस

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले आगामी १५ औं महाधिवेशन र २०८४ को निर्वाचनलक्षित गरी पोखरामा केन्द्रीय प्रशिक्षण दिएको छ । प्रदेश तथा जिल्लाका सभापति र विभाग प्रमुखहरुलाई दिइएको प्रशिक्षणमा केन्द्रीय नेताहरुले संगठन निर्माणलाई जोड दिएका छन् भने कांग्रेस सरकारमा रहँदा भएका विकास निर्माणको सन्देश जनतासम्म पुर्‍याउन पनि तल्लो तहका नेतृत्वलाई सुझाव दिएका छन् ।

सत्तारुढ दल नेपाली कांग्रेस आगामी १५ औं महाधिवेशन र २०८४ को निर्वाचनलक्षित गर्दै संगठन सुदृढीकरण अभियानमा केन्द्रित देखिएको छ । कांग्रेसले तल्लो तहबाट संगठनको स्थितिबारे जानकारी लिन र आगामी रणनीति तय गर्न सातै प्रदेश तथा ७७ वटै जिल्ला सभापति र जिल्ला प्रशिक्षण शाखा प्रमुखहरुलाई पोखरामा भेला गरेर प्रशिक्षण कार्यक्रम चलाएको छ । सोमबार सुरू गरिएको अभिमुखीकरणमा पार्टी संगठनलाई तल्लो तहमा कसरी बलियो बनाउने र पार्टी नीतिका विषयमा कार्यकर्ता तहलाई प्रविधिमा कसरी जोड्ने भन्नेसम्मका विषय प्रस्तुत गरिएका छन् । कांग्रेस सरकारमा रहँदा भएका आर्थिक तथा सामाजिक विकासको सन्देश जनतासम्म पुर्‍याउनुपर्ने आवश्यकता पनि पार्टीले देखेको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी सदस्यता, संगठन निर्माण र समसामयिक राजनीतिका बारेमा प्रशिक्षण गर्ने कार्यतालिका छ । प्रशिक्षणमा विगतका निर्वाचनमा देखिएका कमजोरीको समीक्षा गर्दै अन्तर्घात मूलकारण रहेको औंल्याइएको छ । निर्वाचनमा जनमत बढाउन आन्तरिक घात-अन्तर्घातको स्थिति अन्त्य हुनुपर्ने निष्कर्ष नेतृत्वले नै निकालेको छ ।

प्रशिक्षणका क्रममा जिल्ला सभापति र उपसभापतिहरूलाई गृहजिल्ला फर्किएपछि पाँच महिनामा कम्तीमा ५ जना नयाँ साथी बनाउन सुझाव दिइएको छ । ५ जनामध्ये कम्तीमा पनि दुई जनालाई कांग्रेसको चुनाव चिह्नमा भोट हाल्न लगाउने वातावरण सिर्जना गर्नुपर्ने भनेर संगठन सुदृढीकरणमा जोड दिइएको छ ।

तल्ला तहका नेताहरुले भने पार्टी कमजोर हुनुको दोष केन्द्रीय नेतृत्वलाई नै लगाएका छन् । नेतृत्वले संगठन निर्माणमा ध्यान नदिएइको, गठबन्धन गर्दा ध्यान नदिएको, तल्ला तहका आवाज बेवास्ता गरेको गुनासो गरेका छन् । यसबाहेक अहिले सरकारमा रहँदा सुशासनका विषयमा प्रश्न उठेकाले जनतामाझ स्पष्ट जवाफ दिएर जानुपर्ने सुझाव पनि प्रदेश तथा जिल्ला सभापतिहरुले दिएका छन् ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।

Image

भुपाल गुरुङ

गुरुङ कान्तिपुर टेलिभिजनका कास्की संवाददाता हुन् ।