पार्टीलाई आफ्नै वर्ग र समुदायतर्फ फर्काउने अभियान सुरू भएको छ : अध्यक्ष दाहाल

माघ २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
पार्टीलाई आफ्नै वर्ग र समुदायतर्फ फर्काउने अभियान सुरू भएको छ : अध्यक्ष दाहाल

म्याग्दी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई आफ्नै वर्ग र समुदायतर्फ फर्काएर जनताको सेवामा जुट्ने अभियान सुरू गरिएको बताउनुभएको छ । माओवादी केन्द्र म्याग्दीले आज बेनीमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

नेपालको राजनीतिक परिवर्तनमार्फत जनतालाई अधिकार सम्पन्न बनाउन माओवादीले निर्णायक र ऐतिहासिक आन्दोलनको अगुवाई गरे पनि पछिल्लो समय पार्टीले केही त्रुटि गरेको स्वीकार गर्दै उहाँले अब गम्भीर आत्ममीक्षासहित पार्टी आफ्नै वर्ग र समुदायमा फर्केको बताउनुभयो । ‘हामीले पार्टी एकता कायम राख्न सकेनौं, हामी आफ्नो वर्ग र समुदायबाट केही टाढा हुन पुग्यौं,’अध्यक्ष दाहालले भन्नुभयो,‘म अन्तरआत्माका साथ भन्न चाहन्छु, गल्ती भएकै हो । अब फेरि हामी आफ्नै वर्ग र समुदायमा फर्कने सङ्कल्पका साथ अघि बढेका छौं ।’

पार्टीले के के राम्रा काम गर्यो, कहाँ चुकियो र अब के गर्छ भनेर खुलस्तरूपमा जनताको बीचमा जाने अभियान सुरू गरिएको उल्लेख गर्दै उहाँले अब फेरि पनि जनताको तागतका साथ अघि बढ्ने बताउनुभयो ।

आफूले तेस्रोपटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा ऐतिहासिक अभियानको सुरुवात गरेको उल्लेख गर्दै अध्यक्ष उहाँले सेटिङमा देश चलाउनेहरूका विरुद्ध धावा बोलिएको बताउनुभयो । 

आफ्नो नेतृत्वको सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा गरेका यी ऐतिहासिक कामबाट तर्सेर नै भ्रष्टाचारी, बिचौलिया र दलालहरुले सरकार ढालेको नेपाली जनताले छोटै अवधिमा स्पष्टसँग बुझेको उहाँले बताउनुभयो ।

आफूले पहिलो कार्यकालमा राष्ट्रिय एकता कायम गर्दै संविधान कार्यान्वायन गरिएको, गरिब किसानलाई ऋणमुक्त गरिएको र मध्यपहाडी लोकमार्गलगायत महत्वपूर्ण पूर्वाधारको थालनी गरिएको उल्लेख गर्दै दाहालले दोस्रोपटक प्रधानमन्त्री भएको बेलामा १८ घण्टासम्मको लोडसेडिङ अन्त्य गरेको स्मरण गराउनुभयो । ‘यी प्रतिनिधिमूलक कामबाट पनि जनताले प्रष्टै बुझेका छन् कि कसले जनताको पक्षको पक्षमा काम गर्छ र कसले जनताको विरुद्ध षड्यन्त्रका तानाबाना बुन्छ ?’- उहाँले प्रश्न गर्नुभयो ।

माओवादीले जनताको बलमा सरकार सञ्चालन गर्ने अवसर पाउँदा नमूना काम गर्ने गरेको उल्लेख गर्दै देशभरिका स्थानीय तहमा २५ उत्कृष्ट पालिकामध्ये पहिलो, दोस्रो र तेस्रो स्थानसहित ११ वटा माओवादीले नेतृत्व गरेका पालिका आएको बताउनुभयो । अब पार्टीले स्थानीय तहबाटै समाजवादको अभ्यास गर्ने नीति लिएको उल्लेख गर्दै अध्यक्ष दाहालले सबै तहमा सडक, सदन र सरकारबाट जनताको सेवामा जुट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.