सक्रिय राजनीतिमा पूर्वउपराष्ट्रपति पुनको औपचारिक पुनरागमन

माघ २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
सक्रिय राजनीतिमा पूर्वउपराष्ट्रपति पुनको औपचारिक पुनरागमन

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक रूपमा सक्रिय राजनीतिमा फर्किनुभएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा आज बसेको पदाधिकारी बैठकले पूर्वउपराष्ट्रपति पुनलाई पार्टी जिम्मेवारी सुम्पिएको हो ।

उहाँलाई उत्पादन क्षेत्र हेर्ने संयन्त्रको प्रमुख बनाइएको सचिव देवेन्द्र पौडेलले बताउनुभयो । पुन २०७२ मा संविधान जारी भएपछि र २०७४ मा गरी दुई कार्यकाल उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो । 

त्यस्तै माओवादी केन्द्रले आगामी फागुन ९ गते पार्टीका तर्फबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला गर्ने निर्णय गरेको छ । यस्तै, हुलाकी राजमार्गमा आधारित भएर फागुन १२ गतेदेखि 'जनतासँग माओवादी अभियान' चलाउने निर्णय पनि गरिएको छ ।

अभियान झापाको कचनाकवलबाट सुरू गर्ने निर्णय गरिएको छ । पदाधिकारी बैठकले नेताहरूको जिम्मेवारी हेरफेर समेत गरेको छ । कोशी प्रदेशमा उपमहासचिव हरिबोल गजुरेललाई यथावत् राखिएको छ । मधेश प्रदेशमा उपमहासचिव मातृका यादव र बागमतीमा सचिव हितमान शाक्यलाई जिम्मेवारी दिइएको छ भने गण्डकी प्रदेशमा सचिव दीनानाथ शर्मालाई नै यथावत राखिएको छ । 

यस्तै लुम्बिनीमा सचिव चक्रपाणि खनाल, कर्णाली प्रदेशमा स्थायी समिति सदस्य कालीबहादुर मल्ल र सुदूरपश्चिम प्रदेशमा उपमहासचिव गिरिराजमणि पोखरेललाई इन्चार्जमा यथावत् राखिएको छ । सचिव लिलामणि पोखरेललाई सम्पर्क समन्वय प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ । यसैगरी उपत्यका विशेषमा स्थायी समिति सदस्य जयपुरी घर्ती, प्रवासतर्फ सार्कमा लक्ष्मण पन्त, युरोप-अमेरिकामा राम कार्की र एसिया इन्चार्जमा ओम शर्माले जिम्मेवारी पाएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.