काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल समृद्ध देश बन्नुपर्ने बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाल समृद्ध देश बन्ने आधार धेरै रहेको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामीसँग मेहनती, बहादुर, प्रसिद्ध युवा जनशक्ति छ । ४२ प्रतिशत युवा जनशक्ति अहिले पनि छ । नेपालले विकास गर्ने सम्भावना रहेको छ । अहिले २२ लाख करिव युवाहरू विदेश गएर दुनियाँलाई विकास दिइरहेका छन् । आफ्नो देश विकास गर्न नसक्ने भन्ने होइन । अहिले पनि १ करोड युवाहरू देशभित्रै छन् । एआईको जमानामा एउटा कलंकको रूपमा रहेको गरिबी छ, त्यसलाई सकेसम्म छोटो समयमा समाप्त पार्नुपर्दछ । यस देशलाई समृद्ध नेपाल बनाउनु पर्दछ, धनी जनता बनाउनु पर्दछ । नेपाली जनतालाई सुखी बनाउनु पर्दछ ।”
उहाँले नेपाल गौरवपूर्ण खोज अध्ययन, अनुसन्धान गरेका विद्वान पूर्खाहरूको देश भएको उल्लेख गर्दै स्वाधीन र स्वाभिमानी देश भएको बताउनुभयो । उहाँले नेपालको भूगोल उर्वर रहेको र भौगोलिक क्षेत्रको आवश्यक विविधता पनि नेपालसँग रहेको बताउनुभयो । साथै नेपालले तेल र फलाम खानीहरूको उत्खनन गरिहेको भन्दै कलंकको रूपमा रहेको गरिबीलाई छिटो हटाउन आवश्यक रहेको बताउनुभयो ।