
धनुषा । पुस्तौँदेखि घर बनाइ भोगचलन र बसोबास गर्दै आएका मधेशका रैथानेहरुले 'गाउँ ब्लक स्ववासीको जग्गाधनी प्रमाणपुर्जा' पाएका छन् ।
गाउँ ब्लक भन्नाले विगतमा नापी हुँदा पुरै गाउँ वा बस्तीलाई एउटै कित्ता मानेर वरिपरिको जग्गा मात्र नापिएको क्षेत्र हो । यस्तो ब्लकभित्र पुस्तौँदेखि घर बनाइ बसोबास गर्दै आएका रैथाने वा स्ववासी बासिन्दाहरुलाई जग्गाको कानुनी स्वामित्व दिन सरकारले गाउँ ब्लक स्ववासी जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको हो ।
आफ्नो पुर्ख्यौली जग्गाको सरकारी कागज नहुँदा स्थानीय खरिदबिक्री, नामसारी, अंशबन्डालगायतका समस्या व्यहोर्न बाध्य थिए । सरकारले नापजाँच गरी सरकारी स्वामित्वसहितको लालपुर्जा दिएपछि उनीहरु निकै खुसी देखिए ।
धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ७ मिथिलेश्वर मौवाहीका ७५ वर्षीय रामवृक्ष राउत पाँच पुस्ताभन्दा बढी समयदेखि यसै गाउँमा बस्दै आएका छन् । ज्येष्ठ नागरिक राउत अहिले आएर गाउँ ब्लक स्ववासीको जग्गा धनी प्रमाणपुर्जा पाएका छन् ।
जीवनको उत्तरार्धमा घर जग्गा बसोबासको सरकारी प्रमाणसहितको लालपुर्जा नापी कार्यालय धनुषाले उपलब्ध गराएपछि राउत निकै खुसी भएका छन् । नापीनक्सा गरेको १० वर्षपछि जग्गाको अभिलेख अद्यावधिक तथा दर्तासम्बन्धी आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेपछि नापी कार्यालयले साबिक मिथिलेश्वर मौवाही गाविसका वडा नम्बर एकदेखि ९ सम्मका ३ सय १० जनालाई गाउँ ब्लक स्ववासी जग्गा धनी लालपुर्जा उपलब्ध गराएको हो ।
पाँच सात पुस्तादेखि घर बनाइ भोगचलन गर्दै आएका धनुषाकै मिथिला बिहारी वडा नम्बर ४ कजरा रमौलका एक सय १० जनालाई साउन १ गते र सबैला नगरपालिका वडा नम्बर ११ इनरवाका ५७ जनालाई साउन ३ गते जग्गाको लालपुर्जा हस्तान्तरण गरियो ।
२०६७ सालमा गाउँ ब्लकको जग्गाको नापीनक्सा गर्ने सरकारले नीति ल्याएपछि जनकपुरधाम उपमहानगरपालिकाबाहेक हालको १७ वटा पालिकाको सबै वडामा नापी अधिकृतको नेतृत्वमा सर्वे नापी टोली २०७३ अधिनै परिचालन गरिएको थियो ।
पुस्तौंदेखि भोगचलन र बसोबास गर्दै आएको जग्गाको सरकारी स्वामित्व नरहेका कारण अंशबन्डा, साल सिमाना, खरिदबिक्री र बैंकमा धितो राख्न समस्या रहेको थियो । गाउँ ब्लक स्ववासीको जग्गा धनी प्रमाणपुर्जा पाएसँगै अब कुनै किसिमको कानुनी बाधा अड्चन भने छैन ।
२०४६ सालको सहरी सर्वे नापीमा तात्कालीन १ सय १ गाविसमध्ये बिन्धि र बिसपिट्टी गाविस गाउँ ब्लकको जग्गाको धनी प्रमाणपुर्जा जनकपुर नगरसँगै वितरण गरिए पनि बाँकी ९९ वटा गाविसको स्ववासी जग्गा धनी प्रमाणपुर्जा वितरण धमाधम भइरहेको छ ।
४३ वटा गाउँ ब्लक अर्थात् गाविसका २४ हजार भन्दा बढीले लालपुर्जा पाइसके पनि बाँकी ५४ वटाका ३० हजार भन्दाबढी स्ववासीलाई जग्गा धनी प्रमाणपुर्जा वितरणको कार्य भने जारी छ ।
मधेशमा पुस्तौंदेखि घर बनाइ भोगचलन गर्दै आएको जग्गाको सरकारी आधार बिनानै कागजमा सहीछाप गराइ व्यवहारिक रुपमा कामकाज हुँदै आएको थियो । तर, कानुनी स्वामत्वि प्राप्त भएसँगै बलपूर्वक जग्गा हड्पने, कब्जा गर्ने, झैझगडा, मुद्दा मामिलालगायत जग्गा विवादसम्बन्धी घटनामा कमी आउने स्थानीयको विश्वास छ ।