संसद बैठकमा कांग्रेस सभापति देउवा : अहिलेको सरकारले राम्रो काम गरिरहेको छ

माघ १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
संसद बैठकमा कांग्रेस सभापति देउवा : अहिलेको सरकारले राम्रो काम गरिरहेको छ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस-एमालेबीच भएको ७ बुँदे सहमती कार्यान्वयनमा प्रतिवद्ध रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभा बैठकमा बोल्दै सभापति देउवाले अहिलेको सरकारले राम्रो काम गरेको बताउँदै आगामी दिनमा पनि राम्रो काम गर्नेमा सरकार गम्भीर हुनेमा आशावादी रहेको बताउनुभयो ।

कांग्रेस सभापति देउवाले सरकारले ल्याएको अध्यादेशको बचाउ गर्दै भन्नुभयो, 'अध्यादेशले आर्थिक सुधार ल्याउनमा सहयोग पुर्‍याउनेछ ।'

उहाँले राजनीतिक दलको साझा सहमतिका आधारमा संविधान संशोधन गरिनुपर्ने बताउनुभयो । लोकतन्त्रको स्वतन्त्रतालाई अराजकताका रुपमा लिन नहुने उहाँको भनाइ छ । संसदलाई कानुन निर्माणमा ढिलाइ नगर्न समेत उहाँले आग्रह गर्नुभयो ।

यसैगरी, बैठकमा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले समिति बैठकमा छलफलमा रहेको विधेयक फिर्ता नगरी अध्यादेश ल्याउनु गलत भएको बताउनुभयो । संसदीय प्रक्रिया मिचेर सरकारले अध्यादेश ल्याएको उहाँको भनाइ छ । उहाँले शान्ति प्रक्रियाका बाँकी काम पनि समयमै पूरा गर्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले महँगी नियन्त्रणदेखि जनजीविकाका मुद्दामा सरकार मौन रहेको आरोप लगाउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णीम वाग्लेले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध राखेर मुद्दा चलाएको आरोप लगाउनुभएको छ । नियामावली विपरीत रवि लामिछानेलाई सांसद पदबाट निलम्वित गरेको भन्दै कानुनी उपचार खोज्ने वाग्लेको भनाइ थियो । उहाँले सरकारले राम्रो नियतका साथ अध्यादेश नल्याएको पनि बताउनुभयो ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारको ६ महिना भ्रष्टाचारीको संरक्षणमा लागेको आरोप लगाउनुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.