मधेश आन्दोलनको १८ वर्ष : मधेश केन्द्रित दलहरू नागरिकका अधिकारभन्दा सत्ता स्वार्थमै लिप्त

माघ ५, २०८१ |अमरकान्त ठाकुर
मधेश आन्दोलनको १८ वर्ष : मधेश केन्द्रित दलहरू नागरिकका अधिकारभन्दा सत्ता स्वार्थमै लिप्त

जनकपुर । नेपालमा परिवर्तनका लागि पटक-पटक आन्दोलन भएका छन् । २०४६ सालको जनआन्दोलन होस् वा २०६२-६३ सालको दोस्रो जनआन्दोलन । त्यसपछि २०६३ सालमै अधिकारका लागि मधेशमा अर्को आन्दोलन भयो । आन्दोलनको बलमा उदाएका मधेश केन्द्रित दलहरू अहिले विभाजित अवस्थामा छन् । उनीहरु सत्ता स्वार्थमा मात्र केन्द्रित भएको आरोपसमेत खेपिरहेका छन् ।

मधेश आन्दोलन भएको आज १८ वर्ष पूरा भएको छ । संघीयता, पहिचान, अधिकार र पहुँचका लागि भएको मधेश आन्दोलनका क्रममा ५२ जनाले ज्यान गुमाएका थिए । मधेसकेन्द्रित दल र प्रदेश सरकारले बलिदानी दिवस मनाइरहेका बेला मधेशी जनताको अधिकार अहिले पनि स्थापित हुन नसकेको गुनासो छ । मधेशकेन्द्रित दलहरूले मधेश आन्दोलनयताका १८ वर्ष नागरिकका अधिकारभन्दा सत्ता स्वार्थकै राजनीतिमा आफूलाई केन्द्रित गरेको भन्दै आलोचना हुँदै आएको छ ।

प्रमुख राजनीतिक दलबीच बनेको सहमतिका आधारमा २०६३ माघ १ गते अन्तरिम संबिधान जारी भयो । तर, संविधानप्रति असन्तुष्टि जनाउँदै भएको आन्दोलनका क्रममा २०६३ माघ ५ गते सिरहाको लहानमा गोली लागेर विद्यार्थी नेता रमेश महतोको मृत्यु भयो । सोही दिनलाई मधेश प्रदेशमा बलिदानी दिवसको रुपमा मनाउने गरिन्छ । अधिकार प्राप्तिका लागि भएको मधेश आन्दोलनमा ५२ जनाले ज्यान गुमाएका थिए । तर पनि मधेशका नागरिकले पूर्ण रुपमा अधिकार पाउन सकेका छैनन् ।

मधेसमा विभिन्न समयमा भएका अधिकारप्राप्तिको आन्दोलनमा १ सय १७ जनाले सहादत प्राप्त गरेका छन् । २०६३ मा ५४ जना, २०७२ मा ५६ जना, २०७३ मा पाँच जना र २०७४ मा २ जनाको ज्यान गएको छ । तर ‘पटक-पटक आन्दोलन हुँदा पनि मधेसको माग पूरा भएको छैन,’ लोसपा नेपालका महासचिव परमेश्वर साहले भन्नुभयो ।

आन्दोलनबाट उदाएर देशको प्रमुख शक्ति बनेका दल टुक्रिदै गएर विभिन्न स-साना समूहमा विभाजित छन् । मधेस आन्दोलनले देशमा युगान्तकारी परिवर्तन ल्याएको मधेशवादी दलहरुले दाबी गरे पनि सत्ता र कुर्सीको मोहमा त्यसलाई कमजोर बनाएको विश्लेषक श्यामसुन्दर शशी बताउनुहुन्छ ।

बलिदानी दिवसका अवसरमा मधेशकेन्द्रित दलहरूले जनकपुर, लहानलगायतका शहरहरूमा विभिन्न कार्यक्रम गरे । जनकपुरमा प्रदेश सरकारले पनि कार्यक्रम गरेको छ । तर मधेश आन्दोलनको २ दशक हुन लाग्दा पनि अधिकारप्राप्तिका लागि ठोस पहल हुन सकेको छैन ।


Image

अमरकान्त ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका धनुषा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement