सिराह । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा र राष्ट्रिय मुद्दालाई थप स्थापित गर्न परिवर्तनकारी शक्ति एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभएको छ ।
बलिदानी दिवसका अवसरमा लहानस्थित सहिद चोकमा आयोजित कार्यक्रममा अध्यक्ष यादवले यथास्थितिवादीहरूसँगको संघर्ष सामूहिक रुपमा मात्र गर्न सकिने बताउनुभयो ।
अध्यक्ष यादवले मधेश आन्दोलनको औचित्य अझै पुष्टि गर्न बाँकी रहेको भन्दै संघर्ष आवश्यक रहेकोमा जोड दिनुभयो । यस्तै जसपा नेपालका उपाध्यक्ष राजकिशोर यादवले अझै पनि विभेद थिचोमिचो र असमानता कायम रहेको भन्दै थप संघर्ष आवश्यक रहेको बताउनुभयो ।
मधेश आन्दोलनका क्रममा २०६३ माघ ५ गते प्रहरीको गोली लागेर रमेश महतोको मृत्यु भएको थियो । यससँगै आन्दोलन चर्किएको थियो । त्यसयता प्रत्येक वर्ष माघ ५ गतेलाई जसपासहित मधेशकेन्द्रित दलहरूले बलिदान दिवसका रूपमा मनाउने गरेका छन् ।