नयाँ पुस्तालाई थप निराश बनाउनु हुँदैन : मन्त्री पाण्डे

पुस २७, २०८१ |कान्तिपुर टीभी संवाददाता
नयाँ पुस्तालाई थप निराश बनाउनु हुँदैन : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नयाँ पुस्तालाई थप निराश बनाउन नहुने बताउनुभएको छ । शनिबार काठमाडौंमा नेपाल शैक्षिक परामर्श संघको १९औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अहिले पनि दक्ष जनशक्तिहरू नेपालमै केही गरौं भन्ने ध्येयले स्वदेशमै स्वरोजगार बनी बसिरहेको बताउनुभयो । उहाँले देश रित्तो भयो भन्ने नकारात्मक भाष्य नयाँ पुस्तामा सम्प्रेषण गर्न नहुने भन्दै देशभित्र पनि केही हुन्छ भन्ने आत्मविश्वास जागृत गराउनुपर्ने बताउनुभयो । युवालाई देशभित्र बस्नका निम्ति वातावरण बनाउनुपर्ने पनि उहाँले बताउनुभयो ।

“अहिले थुप्रै विद्यार्थी बाहिर जानुभएको छ । यसलाई नकारात्मक भाष्यका रूपमा देश रित्तो हुने भयो भन्ने भाष्यका रूपमा अघि बढाएका छौं । त्यसका राम्रा र नराम्रा पाटा मूल्यांकन र समीक्षाको विषय हो । हामी त्यसलाई ठीक बाटो तय गर्नेछौं”, उहाँले भन्नुभयो, “तर नकारात्मक भाष्य मात्रै सम्प्रेषण गरेर हामीले थप नयाँ पुस्तालाई निराश बनाउनु हुँदैन । बाहिर जाने कुरा दुनियाँभर भइरहेको छ । यो विश्वव्यापीकरणको परिणामको रूपमा भइरहेको छ । यसमा चिन्ता गर्नुपर्ने छैन ।”

उहाँले विश्वव्यापीकरणबाट नेपालले के फाइदा लिनसक्छ भन्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने पनि बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement