.png&w=1000&height=550)
झापा । भनिन्छ नि, जहाँ चुनौती, त्यहाँ अवसर।
यो भनाइलाई झापाको सीमावर्ती गाउँ बाहुनडाँगीले प्रमाणित गरेको छ। जङ्गली हात्तीको त्रासमा दशकाैँ बिताएका बाहुनडाँगीका बासिन्दा यतिबेला तिनै हात्तीको माध्यमबाट पर्यटक आकर्षित गर्न जुटेका छन्। यसबाट कुनै बेला मान्छे बस्नै डरमर्दो बाहुनडाँगीमा अहिले स्वदेशी तथा विदेशी पर्यटकका साथै वन्यजन्तुसम्बन्धी अध्ययन अनुसन्धान गर्नेहरूको चहलपहल बढ्दै गएको छ ।
यो सिजनमा मेचीपारिबाट दिनहुँजसो जङ्गली हात्तीको बथान नेपाल पसिरहेको छ। यसरी नेपाल छिर्ने हात्तीले सबैभन्दा बढी झापाको बाहुनडाँगीमा क्षति पुर्याउँछन्। अन्नबाली खाँदै र मान्छेको घरगोठ भत्काउँदै अघि बढ्ने यिनै हात्ती अहिले बाहुनडाँगीका बासिन्दाका लागि पर्यटक आकर्षित गर्ने माध्यम बनेका छन्।
जङ्गली हात्तीको गतिविधि नियाल्न र तिनबाट सुरक्षित हुन स्थानीय बासिन्दाले गर्दै आएको प्रयासबारे बुझ्न नेपालका विभिन्न स्थानका साथै भारत, भुटान र बंगलादेशबाट समेत मानिसहरु बाहुनडाँगी आउने क्रम बढेको छ। यसरी आउने पर्यटकलाई सुरक्षित बासका लागि बाहुनडाँगीमा एक दर्जनभन्दा बढी हात्तीमैत्री होमस्टे खुलेका छन् ।
होमस्टेहरुले पर्यटकलाई रैथाने परिकारले स्वागत गर्छन् । रातको समयमा हुने हात्तीको गतिविधि देखाउन गाडीको पनि व्यवस्था गरिएको छ । गाउँमा हात्ती पसेको सूचना दिन र सकेसम्म जङ्गली हात्तीलाई मेची तर्नै नदिन गठन भएको युवाहरुको समूह आरआरटीले पर्यटकलाई मेची बगरसम्म पुर्याएर हात्ती अवलोकन गराउँछ।
पर्यटकलाई मनोरञ्जन दिन स्थानीयस्तरमै सांस्कृतिक टोली पनि तयार छ । बाहुनडाँगीमा पर्यापर्यटन र वन्यजन्तु पर्यटन प्रवर्द्धनका लागि पछिल्लो समय स्थानीय सरकार पनि अग्रसर देखिएको छ । जङ्गली हात्तीबाट हुने क्षति र त्रास जति छ, त्यसबाट जोगिंदै पर्यटकीय चहलपहल बढाउन बाहुनडाँगीले थालेको यो प्रयास हात्ती प्रभावित अन्य बस्तीहरुका लागि पनि मार्गदर्शन बन्न सक्छ।