सहकारीहरूले आफू ठीक अवस्थामा भएको सन्देश दिन जरुरी : मन्त्री अधिकारी

पुस २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
सहकारीहरूले आफू ठीक अवस्थामा भएको सन्देश दिन जरुरी : मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले बजारमा फिँजाइएका भ्रमहरू चिर्न सहकारीहरूले आफू ठीक अवस्थामा रहेको सन्देश दिन जरुरी रहेको बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले सहकारीबारे फैलाइएका हल्लाहरू मिथ्या मात्र हो भन्ने आधारमा अघि बढ्न जरुरी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले सहकारीको विषयमा विभिन्न खाले भ्रमहरू फैलिइरहेको छ । हामी आफ्नो ठाउँमा ठीक छौं भन्ने सन्देश दियौं भने कसैको भ्रमले केही गर्दैन ।”

सबै सहकारीहरू एउटै तप्काका हुन् भन्ने भ्रम चिर्न सहकारीहरूले जनताको समस्या समाधान हुनेगरी कृषिमा आधारित र जनताको जीवनस्तर उकास्ने काम गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । उहाँले छिमेकी मुलुकहरूले कृषिमा गरेको कामको अनुशरण गरेर अघि बढ्न जरुरी रहेको पनि बताउनुभयो ।

“अहिले सहकारीहरू सबै एउटै प्रकृतिका हुन्, एउटै खाले हुन्, सहकारी ठीक छैनन्, सहकारी अब चाहिँदैनन् भन्ने एउटा तप्का छ । जनताको समस्या समाधान गर्नको लागि कृषिमा आधारित र जनताको जीवनस्तर उकास्ने भनेको सहकारी हो । किनेभने हामीले सहकारीमा बचत जम्मा गरेका हुन्छौं, त्यही बचत परिचालन गरेका हुन्छौं । त्यही बचतबाट आफ्नो आर्थिक स्थितिलाई उकास्न मद्दत गर्छ । त्यसैले सहकारी चाहिन्छ । त्यसकारण सहकारीमा फिँजाइएको यो हल्ला मिथ्या हो भन्ने आधारमा जान जरुरी छ”, उहाँले भन्नुभयो ।

उहाँले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारको मात्र मुख ताक्ने नभई सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह समेत गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement