पूर्ववर्ती सरकारले भ्रष्टाचार विरुद्ध कुनै अभियान चलाएन : प्रधानमन्त्री ओली

पुस २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
पूर्ववर्ती सरकारले भ्रष्टाचार विरुद्ध कुनै अभियान चलाएन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी नेतृत्वको पूर्ववर्ती सरकारले भ्रष्टाचार विरुद्ध कुनै अभियान नचलाएको दाबी गर्नुभएको छ। नेकपा एमालेको आजबाट सुरू भएको केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले उल्टै आफ्नालाई चोख्याउने र अरूलाई फसाउने ढंगले काम गरेको आरोप लगाउनुभयो ।

बैठकमा ४७ पेजको राजनीतिक प्रतिवेदन पेश गर्दै ओलीले प्रतिपक्षी माओवादीले सुनियोजित रूपमा एमाले र आफ्नो सरकार विरुद्ध दुष्प्रचारको अभियान नै चलाएको भन्दै भ्रष्टाचारका फाइल खोल्न लागेकाले सरकार परिवर्तन भएको दाहालको आरोपको खण्डन गर्नुभयो ।

प्रतिवेदनमा ओलीले सरकारले अर्थतन्त्र चलायमान बनाउन नसकेकेको स्वीकार गर्नुभएको छ। अधिकांश समय माओवादीको आलोचनामा खर्च गर्नुभएका ओलीले अघिल्लो सरकारले लिएका गलत नीतिका कारण परिणाम देखिने गरी काम गर्न नसकेको बताउनुभयो । पार्टी र सरकार विरुद्ध चौतर्फी भ्रम सिर्जना कार्य भइरहेको जिकिर गर्दै ओलीले त्यसको प्रतिवाद गर्नुपर्ने बताउनुभयो ।

पार्टीभित्र गुटबन्दी मौलाएका कारण त्यसलाई चिर्नुपर्ने बताउनुभएका ओलीले पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनका लागि जनतासम्म पुग्ने अभियानको तयारीमा लाग्न पार्टी पंक्तिलाई निर्देशन दिनुभयो ।

कांग्रेससँग गठबन्धन गर्नुको औचित्यबारे स्पष्टीकरण दिँदै ओलीले सरकार गठनको ६ महिनामा राजनीतिक स्थायित्वको सन्देश प्रवाह भएको दाबी गर्नुभयो । ओलीको प्रतिवेदनमा गत मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा पार्टीले अपेक्षित नतिजा ल्याउन नसकेको पनि स्वीकार गरिएको छ ।

प्रतिवेदनमाथि बैठकमा आजै छलफल सुरू भएको छ। ओलीको प्रतिवेदनमाथि आज २७ सदस्यले धारणा राखे । उनीहरूले ओलीकै भाषामा पार्टी विरुद्ध नकारात्मक प्रचार भइरहेकोमा चिन्ता व्यक्त गरेका छन् । पार्टीलाई तल्लो तहसम्म पुर्‍याउन र नयाँ पुस्तामा विश्वास आर्जन गर्ने गरी 'जरा अभियान' सञ्चालन गर्न पनि उनीहरूले सुझाव दिए ।

यस्तै बैठकले पूर्वउपाध्यक्ष भीम रावललाई गरिएको निष्कासन र स्थायी समिति सदस्य बिन्दा पाण्डे र केन्द्रीय कमिटी सदस्य उषाकिरण तिम्सेनालाई गरिएको निलम्बनलाई अनुमोदन गरेको छ । तर बैठकमा दुई जना केन्द्रीय सदस्यले भने पार्टीले गरेको कारबाही पुनःविचार गर्नुपर्ने माग गरेको थिए । बैठक भोलि पनि जारी रहनेछ ।

यस्तो छ ओलीको प्रतिवेदनको पूर्णपाठ :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement